
कोरोन, पलावान, २७ भदौ । फिलिपिन्समा फेरीमा भएको भीषण आगलागीमा मृत्यु भएका यात्रुका शव शनिबार बिहान पलावानको पर्यटकीय सहर कोरोन नजिकैको बन्दरगाहमा ल्याइएको छ । अधिकारीहरूले मृतकको संख्या ३५ पुगेको पुष्टि गर्दै अझै धेरै शव फेला पर्न सक्ने बताएका छन् ।
बुधबार साँझ एमभी जुन एस्टर फेरीमा आगलागी भएपछि जहाज नियन्त्रणबाहिर गई पर्यटकीय क्षेत्र कोरोन नजिकै गएर अड्किएको थियो । आगलागी केही सेकेन्डमै जहाजभर फैलिएको बताइएको छ । समाचार संस्था एएफपीका अनुसार शनिबार बिहान ३० वटा शव बन्दरगाहमा ल्याइएका थिए ।
शव व्यवस्थापनका लागि बन्दरगाहमा टेन्टसमेत स्थापना गरिएको थियो । फिलिपिन्स कोस्ट गार्डकी प्रवक्ता नोएमी कयाबयाबले शवहरू प्रहरीका फरेन्सिक अनुसन्धानकर्तालाई बुझाएर पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताउनुभएको हो ।
“अहिले हाम्रो ध्यान शव उद्धारमा केन्द्रित छ । त्यसपछि घटनाको अनुसन्धान अघि बढाउनेछौँ,” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँका अनुसार उद्धार गरिएका शवहरू जहाजको इकोनोमी कक्षमा फेला परेका हुन् । जहाजमा अझै कति शव बाँकी छन् भन्नेबारे अधिकारीहरूले पछि जानकारी दिने बताएका छन् ।




























