
संयुक्त राष्ट्रसंघ, २७ भदौ । आतंकवाद पछिल्लो समय थप विखण्डित तथा विभिन्न क्षेत्रमा फैलिँदो चुनौतीका रूपमा विकसित भइरहेको र प्रविधिको तीव्र विकासले यसको स्वरूपमा समेत परिवर्तन ल्याइरहेको संयुक्त राष्ट्रसंघकी सहायक महासचिव नतालिया गेर्मानले बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आतंकवादविरोधी समितिको कार्यकारी निर्देशनालयको नेतृत्व गरिरहनुभएकी गेर्मानले आतंकवादी समूहहरूले आफ्ना संगठनात्मक संरचनामा परिवर्तन गर्दै गतिविधिलाई विकेन्द्रीकरण गर्ने, आर्थिक स्रोतका माध्यमहरू विविध बनाउने तथा अस्थिर परिस्थितिको लाभ उठाउने प्रयास गरिरहेको बताउनुभएको हो ।
उहाँका अनुसार कमजोर शासन व्यवस्था, स्रोतसाधनका लागि हुने प्रतिस्पर्धा तथा स्थानीय असन्तुष्टिजस्ता परिस्थितिलाई आतंकवादी समूहहरूले आफ्नो प्रभाव विस्तार गर्न प्रयोग गरिरहेका छन् । यस्ता समूहहरूले महिला तथा पुरुषका फरक–फरक संवेदनशीलतालाई ध्यानमा राख्दै प्रचार तथा भर्तीका रणनीतिहरू अपनाइरहेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।
आतंकवादी समूह तथा संगठित आपराधिक सञ्जालहरूले मानिस, हतियार तथा अवैध सामग्रीको आवतजावतका लागि समुद्री मार्ग र महत्वपूर्ण पूर्वाधारको दुरुपयोग गरिरहेको उहाँले बताउनुभएको छ । विकेन्द्रीकृत समूह, सीमित रूपमा जोडिएका सञ्जाल तथा एकल व्यक्तिबाट हुने हिंसात्मक गतिविधिको पहिचान र नियन्त्रण थप चुनौतीपूर्ण बन्दै गएको उहाँले बताउनुभयो ।
प्रविधिको प्रयोग आतंकवादी समूहहरूले प्रचार तथा भर्तीमा मात्र नभई आक्रमणको योजना निर्माण, सूचना संकलन तथा आर्थिक स्रोत व्यवस्थापनमा समेत गरिरहेको उहाँले बताउनुभएको छ । मानवरहित विमान प्रणालीको पहुँच र प्रभावकारिता बढेसँगै निगरानी, खोज तथा आक्रमणका लागि यसको प्रयोगसमेत बढिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।




























