Home headline main चाडपर्वमा देशभर उच्च सुरक्षा सतर्कता: मापसे-लापसे जाँचदेखि होटलहरूमा छड्के अनुगमनसम्म

चाडपर्वमा देशभर उच्च सुरक्षा सतर्कता: मापसे-लापसे जाँचदेखि होटलहरूमा छड्के अनुगमनसम्म

चाडपर्वमा देशभर उच्च सुरक्षा सतर्कता: मापसे-लापसे जाँचदेखि होटलहरूमा छड्के अनुगमनसम्म
काठमाडौं, ४ कार्तिक । चाडपर्वका बेला घर फर्कने यात्रुहरूको सुरक्षा, सहज आवागमन तथा सम्भावित ठगी नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर २४ सै घण्टा उच्च सुरक्षा सतर्कतासहित टोली परिचालन गरेको छ। दशैँ तथा तिहारलाई लक्षित गरी प्रहरीले विशेष सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याएको छ। नागरिकको सुरक्षार्थ प्रहरी कर्मचारीहरूको नियमित बिदासमेत स्थगन गरी टोलीहरू परिचालन गरिएको छ।

चालकको कडा जाँच र वैकल्पिक व्यवस्था

लामो दूरीका यात्रुवाहक सवारीसाधन छुट्ने उद्गम बिन्दुमै चालकको अनुमतिपत्र, सवारीको यान्त्रिक अवस्था तथा चालकले मादक पदार्थ वा लागूऔषध सेवन (मापसे–लापसे) गरे-नगरेको कडाइका साथ जाँच भइरहेको छ। नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै जाँचका क्रममा चालकले मापसे वा लापसे गरेको पाइएमा तत्काल कानूनी कारबाही गरिने बताएका छन्। साथै, यात्रुहरू अलपत्र नपरून् भन्नका लागि यातायात व्यवसायीहरूसँग समन्वय गरी तुरुन्तै अर्को सक्षम चालकको वैकल्पिक व्यवस्था मिलाइने जानकारी उनले दिए।

कालोबजारी, गुणस्तरहीन खाना र बढी भाडा नियन्त्रण

राजमार्गका होटल तथा पसलहरूमा यात्रुहरूलाई गुणस्तरहीन र मिसावटयुक्त खाना खुवाउने, बढी मूल्य असुल्ने तथा ठगी गर्ने प्रवृत्ति रोक्न प्रहरीले कडाइ गरेको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा वाणिज्य कार्यालयका प्रतिनिधिसहित सादा पोशाकका प्रहरी टोलीले नियमित छड्के अनुगमन गरिरहेका छन्। यसैगरी, काठमाडौंका नागढुङ्गा, फर्पिङलगायतका प्रमुख नाकाहरूमा यात्रुसँग तोकिएभन्दा बढी भाडा लिए-नलिएकोबारे सोधपुछ तथा निगरानी तीव्र पारिएको छ।

अत्याधुनिक प्रविधि र द्रुत गस्ती टोली परिचालन

सुरक्षा व्यवस्थापनलाई कडा बनाउन राजमार्ग तथा शहरका भित्री क्षेत्रहरूमा क्विक रेस्पोन्स टिम (क्यूआरटी) मोटरसाइकल र सञ्चार उपकरणसहितका गाडी (सीआरभी) निरन्तर गस्तीमा रहेका छन्। संवेदनशील तथा भीडभाड हुने धार्मिक स्थल, मेलापर्व र बजार क्षेत्रहरूमा आधुनिक प्रविधि जस्तै ड्रोन, सीसीटीभी तथा तालिमप्राप्त कुकुरहरूको प्रयोग गरी निगरानी भइरहेको छ।

आपत्कालीन सम्पर्क व्यवस्था

आपत्कालीन अवस्थामा नागरिकहरूलाई १०० नम्बरमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ। यदि १०० नम्बरमा सम्पर्क हुन नसकेमा नेपाल प्रहरीको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयका ड्युटी अधिकृतलाई सिधै सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here