
काठमाडौं, २५ भदाै। एल.पी. ग्यास उद्योग संघ नेपालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको छ। संघले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीले ग्यास उद्योगीहरू प्रति दिएको अभिव्यक्ति गैरजिम्मेवार, अमर्यादित र खेदजनक रहेको जनाएको छ।
गत २०८३ भाद्र २४ गते प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर संघले आफ्नो असन्तुष्टि व्यक्त गरेको हो। प्राकृतिक विपत्तिको समयमा ग्यास आपूर्ति र बिक्री वितरण सहज बनाउन अहोरात्र खटिरहेको अवस्थामा नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिबाट गैरलोकतान्त्रिक र अशोभनीय अभिव्यक्ति आएको संघको दाबी छ।

विज्ञप्तिमा उल्लेख गरिए अनुसार, समस्याको वस्तुनिष्ठ समीक्षा गर्नुको साटो अर्को पक्षलाई दोष देखाएर आफू पानी माथिको ओभानो बन्न खोज्ने प्रवृत्तिले समस्या समाधान नहुने जनाइएको छ। संघले विगतका निर्णयहरू स्मरण गराउँदै भनेको छ:
- आधा सिलिन्डर (७.१ केजी) को व्यवस्था: २०८२ चैत १६ गते नेपाल आयल निगममा पत्र पेश गरी १५ दिनका लागि भनिएको आधा सिलिन्डरको व्यवस्था ४ महिनासम्म निरन्तर दिइएपछि पुनः भरी सिलिन्डरमै फर्कन अनुरोध गरिएको थियो।
- माग र आपूर्तिको सन्तुलन: पूर्ण सिलिन्डर लागू भएपछि अचानक सिलिन्डरको माग वृद्धि हुनु, ग्यास आयातमा उचित तदारुकता नदेखिनु र पृथ्वी राजमार्गको अवरोधका कारण ग्यास बुलेट ढुवानी प्रभावित हुनु नै वर्तमान अभावको मुख्य कारण रहेको संघको विश्लेषण छ।
संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा कुनै उद्योगबाट बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाण भेटिएमा कानुन बमोजिम कारबाही गर्न संघले सधैं सहयोग गर्ने स्पष्ट पारिएको छ। तर, बिना प्रमाण ग्यास उद्योगीलाई दोषी देखाई भौतिक कारबाहीको संकेत दिने अभिव्यक्ति अत्यन्त आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ।
संघले कठिन परिस्थितिमा पनि सर्वसाधारण उपभोक्तालाई एल.पी. ग्यास सहज रूपमा उपलब्ध गराउन सरकार र सम्बन्धित निकायहरूसँग निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको जनाएको छ।

























