
ब्रासिलिया, ९ कात्तिक । ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा ५१.८ प्रतिशत मतसहित चौथो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी फ्लेभियो बोल्सोनारोले ४८.२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । तर, उहाँले हार स्वीकार नगरी निर्वाचनको परिणाम रद्द गर्न माग गर्ने बताउनुभएको छ ।
लुलाको विजयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अर्जेन्टिना, चिली, कोलम्बिया र पेरुलगायत देशमा देखिएको रूढीवादी राजनीतिक लहरलाई चुनौती दिएको छ । फ्लेभियो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा हुनुहुन्छ । जायर सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएपछि विद्रोहको प्रयास गरेको आरोपमा २७ वर्षको जेल सजाय भोगिरहनुभएको छ ।
आइतबार मतदानको समय दुई घण्टा थप्ने सर्वोच्च अदालतको निर्णयले विवाद उत्पन्न गरेको थियो । नागरिकलाई मतदान गर्नबाट रोकिएको भन्दै बस सेवा सञ्चालनमा अवरोध भएको लुलाको गुनासोपछि समय थपिएको थियो । भारी वर्षाका कारण केही क्षेत्रमा समय थप्न फ्लेभियोले पनि आग्रह गर्नुभएको थियो । तर, उहाँले अदालतको निर्णयलाई ‘अस्वीकार्य’ भन्दै निर्वाचन रद्द गर्न माग गर्ने बताउनुभयो ।
सन् १९८९ यता पहिलो चरणमा पराजित उम्मेदवारले दोस्रो चरणमा जित हासिल गर्न नसकेको इतिहास यसपटक लुलाले बदल्नुभएको छ । पहिलो चरणमा मतदान नगर्ने मतदाताको अनुपात २१ प्रतिशतबाट घटेर १९ प्रतिशतमा झरेको थियो । विजयपछि रियो दि जेनेरियो र साओ पाउलोमा समर्थकहरूले आतसबाजी गर्दै उत्सव मनाएका थिए । निर्वाचन अभियानमा सामाजिक सञ्जालको भूमिकालाई लिएर पनि विवाद भएको थियो ।
लुलाको अभियानले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मूल कम्पनी मेटामाथि आफ्ना प्रतिस्पर्धीलाई अनुचित समर्थन गरेको आरोप लगाएको थियो । मेटाले आरोप अस्वीकार गरे पनि प्राविधिक त्रुटिका कारण लुलाका केही चुनावी विज्ञापन निष्क्रिय भएको स्वीकार गरेको थियो । लुलाले सामाजिक सञ्जाल कम्पनीहरूलाई नियमन गर्नुपर्ने बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





























