पोखरा, ३ भदौ। गण्डकी प्रदेश खेलकुद परिषद्वारा भएको पदक वितरणसम्बन्धी विवादमा परिषद्का दुई कार्यकारणी सदस्यले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। कार्यकारणी सदस्यद्वय भेनिस थापा र कञ्चन थापा कोइरालाले बिहीबार (२०८१ भदौ ५ गते) संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा स्पष्ट पारेका हुन्।

पदक वितरणमा गम्भीर त्रुटि, लापरवाही तथा प्रक्रियागत कमजोरी भएको निष्कर्षसहित छानबिन समितिले प्रतिवेदन बुझाएको सन्दर्भमा उनीहरूले ध्यानाकर्षण भएको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, “पदक खेलाडीको मेहनत, प्रदेश र राष्ट्रको गौरवसँग जोडिएको विषय भएकाले यसको वितरण विधि, प्रक्रिया, मापदण्ड र संस्थागत निर्णयअनुरूप हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।”

सदस्यद्वयले पदक सिफारिस समितिबाट सिफारिस भई आएको भन्दै बैठकमा प्रस्ताव प्रस्तुत भएपछि आफूहरूले बैठकको उपस्थितिमा मात्र हस्ताक्षर गरेको उल्लेख गरेका छन्। पदक सम्बन्धी निर्णयमा आफ्नो हस्ताक्षर नरहेको र उपस्थितिका लागि गरिएको हस्ताक्षरलाई निर्णयमै प्रयोग गरी सहमति वा स्वीकृति देखाउनु तथ्यसम्मत नभएको उनीहरूको दाबी छ।

संविधान, कार्यविधि, मापदण्ड र प्रक्रियाबमोजिम सिफारिसबिनै निर्णय वा कार्यान्वयन भएको भए त्यसको सम्पूर्ण जिम्मेवारी निर्णय गर्ने र कार्यान्वयन गर्ने पदाधिकारीले नै लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ। आफ्नो जानकारी वा सहमतिबिना भएका निर्णयको जिम्मेवारी आफूहरूमाथि थोपर्न नमिल्ने र नलिने उनीहरूले स्पष्ट पारेका छन्।

छानबिन प्रतिवेदनका आधारमा सत्यतथ्य निष्पक्ष रूपमा परीक्षण गरी दोषीलाई कानुनबमोजिम कारबाही र निर्दोषलाई दोषापेणबाट मुक्त गर्न उनीहरूले सरकारसमक्ष आग्रह गरेका छन्। साथै, आवश्यक परे आफ्ना असहमति, कागजात तथा तथ्य प्रमाण सम्बन्धित निकायमा प्रस्तुत गर्न आफूहरू तयार रहेको समेत विज्ञप्तिमा जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0