मनिला, २५ साउन। उत्तरी फिलिपिन्सको बागुइओ सहरमा गएको भीषण पहिरोमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन्।

आइतबार साँझ करिब ७ बजे बागुइओस्थित बारान्गे गुइसद सुरोङको रिभरसाइड क्षेत्रमा अचानक पहिरो खसेको हो। पहिरोले तीन वटा घर पूर्ण रूपमा पुर्दा १३ जना भग्नावशेषमा थुनिएका थिए।

घटनाको जानकारी पाउनासाथ खटिएका उद्धारकर्मीहरूले सोमबार बिहानसम्म सात जनालाई जीवितै उद्धार गर्न सफल भएका छन्। मृत्यु हुनेहरूमा ५६ वर्षीय एक पुरुष, १७ वर्षीया किशोरी र नौ वर्षका दुई बालबालिका रहेका छन्। उद्धार गरिएकामध्ये तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मौसम प्रतिकूल भई बीचबीचमा लगातार वर्षा भइरहे तापनि उद्धारकर्मीहरूले बेपत्ता भएका अन्य छ जनाको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले प्रभावित क्षेत्रका १४ परिवारका ६२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ भने थप सात जनालाई स्थानीय गाउँको सभाहलमा आश्रय दिइएको छ। स्थानीय प्रशासनले उद्धार तथा राहत कार्यलाई तीव्र बनाउँदै जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0