पोखरा, १६ साउन। क्षत्री समाज नेपाल, केन्द्रीय समिति पोखराले सुनसरीको देवानगन्जबाट सुरु भएको धार्मिक विवादका कारण देशका विभिन्न जिल्लामा सामाजिक सद्भाव र एकतामा खलल पुगी मुलुकको शान्ति सुरक्षामा समस्या उत्पन्न भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

समाजले शुक्रबार एक सार्वजनिक अपिल जारी गर्दै हाल देशका विभिन्न स्थानमा देखिएका धार्मिक असहिष्णुता, उत्तेजनात्मक अभिव्यक्ति तथा हिंसात्मक गतिविधिहरूले सामाजिक सद्भाव, राष्ट्रिय एकता र नागरिकको संविधानप्रदत्त मौलिक हक अधिकार संरक्षणमा चुनौती सिर्जना गरेको उल्लेख गरेको छ। यस्ता गतिविधिबाट कुनै पनि व्यक्ति, समुदाय वा राष्ट्रले दीर्घकालीन लाभ प्राप्त गर्न नसक्ने अपिलमा स्पष्ट पारिएको छ।

सामाजिक एकता र सद्भाव जोगाउन क्षत्री समाज नेपालले आम नागरिकहरूसमक्ष ५ बुँदे अनुरोध गरेको छ:

१. घृणा र हिंसा नगर्न: कुनै पनि धर्म, जाति वा समुदायप्रति घृणा, हिंसा वा वैमनस्य फैलाउने गतिविधिमा संलग्न नहुन।

२. सद्भाव सुदृढ बनाउन: सबै धर्म, आस्था र संस्कृतिप्रति समान सम्मान तथा सहिष्णुता कायम राख्दै आपसी सद्भाव अझ सुदृढ बनाउन।

३. शान्तिपूर्ण समाधान: कुनै पनि विवाद वा असहमतिको समाधान संविधान, कानुन, संवाद र शान्तिपूर्ण माध्यमबाट खोज्ने परिपाटीलाई प्रवर्द्धन गर्न।

४. भ्रामक सामग्री सम्प्रेषण नगर्न: सामाजिक सञ्जाल वा अन्य माध्यमबाट आउने अपुष्ट, भ्रामक वा उत्तेजनात्मक सामग्रीको आधिकारिकता र सत्यतथ्य नबुझी सम्प्रेषण नगर्न।

५. सक्रिय भूमिका निर्वाह गर्न: स्थानीय समुदाय, नागरिक समाज, धार्मिक अगुवा, सञ्चार माध्यम तथा सरोकारवाला सबै पक्षले संयम, सहकार्य र जिम्मेवारीका साथ सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न।

साथै, क्षत्री समाज नेपालले नेपाल सरकारसमक्ष शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न, संविधान र कानुनको निष्पक्ष कार्यान्वयन गर्न तथा सबै नागरिकको मानव अधिकार, धार्मिक स्वतन्त्रता र संवैधानिक अधिकारको संरक्षण सुनिश्चित गर्न माग गरेको छ। समाजले हालैका घटनाका घाइतेहरूको नि:शुल्क स्वास्थ्य उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनसमेत अपिल गरेको छ।

अध्यक्ष रबि बहादुर थापा र सचिव शिव बहादुर थापाद्वारा हस्ताक्षरित सो अपिलमा राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि क्षत्री एकता आजको आवश्यकता रहेको दोहोर्‍याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0