नयाँदिल्ली, ४ साउन । प्रहरीले अनुमति नदिए पनि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै युवाहरूको नेतृत्वमा रहेको ‘कक्रोच’ आन्दोलनका हजारौँ समर्थक सोमबार संसद् भवनतर्फ मार्च गर्ने उद्देश्यले नयाँदिल्लीमा भेला भएका छन् । राजधानीको जन्तरमन्तर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने संसद् आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रदर्शनकारीहरूले अघि बढ्ने प्रयास गरे झडप हुन सक्ने भन्दै प्रहरीले उनीहरूलाई लाउडस्पीकरमार्फत तितरबितर हुन आग्रह गरेको छ । प्रदर्शनमा विद्यार्थी, विभिन्न पेशाका व्यक्तिहरू तथा परिवारसहितका सर्वसाधारण सहभागी भएका छन् । उनीहरूले भारतीय झण्डा बोकेर शिक्षामन्त्री प्रधान र प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी गरेका छन् ।

‘कक्रोच जनता पार्टी’ नामबाट परिचित यो आन्दोलन मे महिनामा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले एक फरक मुद्दाको सुनुवाइका क्रममा केही बेरोजगार युवालाई ‘कक्रोच’ (साङ्ला) सँग तुलना गरेपछि सुरु भएको हो । प्रदर्शनकारीहरूले उक्त टिप्पणीलाई व्यङ्ग्यात्मक रूपमा आत्मसात गर्दै सामाजिक सञ्जालमार्फत आन्दोलनलाई व्यापक बनाएका हुन् ।

मेडिकल कलेज र सरकारी सेवाका प्रवेश परीक्षाको प्रश्नपत्र पटक–पटक चुहिएको घटनापछि बढेको असन्तुष्टिले आन्दोलनलाई थप बल दिएको हो । शनिबार अनशनरत अभियन्ता सोनम वाङचुकलाई प्रहरीले अस्पताल लगेको घटनापछि आन्दोलनले अझ व्यापक समर्थन पाएको छ ।

प्रदर्शनकारीहरू विगत एक महिनादेखि जन्तरमन्तरमा धर्ना दिँदै आएका छन् । उनीहरूले शिक्षामन्त्रीको राजीनामा, परीक्षा प्रणालीमा सुधार तथा प्रश्नपत्र चुहिएपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0