

तेहरान, ४ साउन । संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध लगातार नवौँ रात हवाई आक्रमण सञ्चालन गरेपछि मध्यपूर्वमा युद्ध थप चर्किएको छ । अमेरिकी आक्रमणसँगै कुवेत, बहराइन, जोर्डन र सिरियासम्म सुरक्षा अवस्था तनावपूर्ण बनेको छ भने इरानले पनि आफ्नो प्रतिआक्रमणलाई तीव्र बनाएको जनाएको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले आइतबार राति इरानमाथि नयाँ हवाई आक्रमण सुरु गरिएको पुष्टि गर्दै यसको उद्देश्य हर्मुज जलघाँटीमा व्यापारिक जहाज तथा नागरिक जलयातायातमाथि आक्रमण गर्न प्रयोग भइरहेका इरानी सैन्य क्षमतालाई कमजोर पार्नु रहेको जनाएको छ । सेन्टकमका अनुसार यो लगातार नवौँ रातको आक्रमण हो । यससँगै बहराइनले हवाई आक्रमणको साइरन बजाउँदै नागरिक तथा बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
कुवेतले पनि इरानी आक्रमणपछि आफ्नो हवाई प्रतिरक्षा प्रणालीले शत्रुतापूर्ण ड्रोनहरू अवरोध गरेको जनाएको छ । कुवेती सेनाका अनुसार सुनिएका विस्फोटहरू ती ड्रोनहरूलाई प्रतिरक्षा प्रणालीमार्फत निष्क्रिय पार्ने क्रममा भएका थिए । इरानको रिभोलुसनरी गार्ड्सले भने सिरियाको अल–तान्फ क्षेत्रमा रहेको शत्रुपक्षको विशेष अपरेसन कमान्ड सेन्टरमाथि ‘आश्चर्यजनक आक्रमण’ गरिएको दाबी गरेको छ । सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार उक्त आक्रमण दक्षिणपूर्वी इरानको इरानशहरमा मारिएका सैनिकहरूको बदलास्वरूप गरिएको हो ।
इरानले आइतबार कुवेतस्थित दुई अमेरिकी सैन्य अड्डालाई पनि लक्षित गरी आक्रमण गरेको जनाएको थियो । तेहरानले अमेरिकाले निर्माणाधीन आणविक ऊर्जा केन्द्रसहित यातायात तथा पूर्वाधार संरचनामाथि निरन्तर आक्रमण गरिरहेकाले त्यसको प्रतिकारस्वरूप आफ्ना कारबाही जारी रहेको दाबी गरेको छ । जोर्डनले पनि आइतबार आफ्नो आकाशमा प्रवेश गरेका मिसाइलहरू अवरोध गरेको जानकारी दिएको छ । फेब्रुअरी २८ देखि सुरु भएको युद्धको केन्द्रमा रहेको हर्मुज जलघाँटी अझै तनावको केन्द्र बनेको छ ।
विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने यो जलमार्गमा इरानले जहाज आवतजावतमा अवरोध गर्दै आएको छ । आइतबार रिभोलुसनरी गार्ड्सले जलघाँटी पार गर्ने प्रयास गरिरहेका चार जहाजमध्ये दुईलाई रोकेको र अन्य दुई जहाजले यात्रा नै स्थगित गरेको दाबी गरेको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका अमेरिकी आक्रमणले अमेरिकी सैनिकमाथि भएका आक्रमणको कडा जवाफ दिएको बताउनुभएको छ । सेन्टकमका अनुसार पछिल्ला घटनामा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता छन् । फेब्रुअरीदेखि जारी युद्धमा अमेरिकी सैन्य हताहतको पुष्टि भएको सङ्ख्या १७ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























