
जेनेभा, ५ फागुन। मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बन्दै गइरहेका बेला संयुक्त राज्य अमेरिका र इरानले जेनेभामा आफ्नो आणविक कार्यक्रमसम्बन्धी दोस्रो चरणको वार्ता सुरु गर्ने सहमति जनाएका छन् । दुवै देशबीचको तनावपूर्ण सम्बन्धका बीच कूटनीतिक संवाद पुनः अगाडि बढ्नुलाई महत्त्वपूर्ण सङ्केतका रूपमा हेरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रम सीमित गर्न दबाब दिँदै आवश्यक परे बल प्रयोग गर्न सकिने चेतावनी दिँदै आउनुभएको छ । इरानले त्यस्तो कुनै कदम चालिए प्रतिकार गर्ने बताउँदै आएको छ । हालै इरानमा भएका राष्ट्रव्यापी विरोध प्रदर्शनमाथिको दमनलाई लिएर पनि ट्रम्पले कडा प्रतिक्रिया व्यक्त गर्नुभएको थियो ।
दुवै पक्षबीच पहिलो चरणको अप्रत्यक्ष वार्ता फेब्रुअरी ६ मा ओमानमा भएको थियो । त्यहाँ वार्ता अलग–अलग रूपमा सञ्चालन गरिएको थियो । दोस्रो चरणको बैठक जेनेभामा हुने भए पनि यसको स्वरूपबारे स्पष्ट विवरण सार्वजनिक गरिएको छैन । ट्रम्पका दूत स्टिभ विटकफ र जारेड कुसनर वार्ताका लागि यात्रा गरिरहनुभएको छ । हङ्गेरीको बुडापेस्ट भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले कठिनाइ हुँदाहुँदै पनि शान्तिपूर्ण सम्झौता खोजिरहेको बताउनुभयो । “राष्ट्रपतिले सधैँ वार्ताबाटै समाधान खोज्ने प्राथमिकता दिनुहुन्छ”, उहाँले भन्नुभयो ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले जेनेभामा संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायका प्रमुखसँग भेट गर्नुभएको छ । उहाँले निष्पक्ष र न्यायसङ्गत सम्झौता खोज्न आफू तयार रहेको उल्लेख गर्दै धम्कीका आधारमा समर्पण स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ । ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले क्षेत्रीय शान्ति र संयमको आवश्यकता औँल्याउँदै मध्यस्थ भूमिकालाई निरन्तरता दिने सङ्केत गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























