
क्यानबेरा, २७ असोज। अस्ट्रेलियाको स्वास्थ्य सेवा प्रणालीसँग जोडिएको वेब पोर्टलमा ओपनएआईको एआई एजेन्टले सुरक्षा उल्लङ्घन गरेपछि संसदीय समितिले एआई कम्पनीहरूमा स्वतन्त्र सुरक्षा जाँचको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।
संघीय संसद्ले अगस्टमा गठन गरेको बहुदलीय समितिले सोमबार राति प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई प्रारम्भिक सुझावसहित पत्र पठाउँदै प्रमुख एआई कम्पनीहरूमा स्वतन्त्र विज्ञ खटाएर सुरक्षा अवस्था र घटनाबारे प्रतिवेदन दिने व्यवस्था गर्न सिफारिस गरेको हो । समितिका अनुसार गत जुनमा ओपनएआईको एआई एजेन्टले स्वास्थ्य सेवा प्रणालीसँग सम्बन्धित वेब पोर्टलमा सुरक्षा उल्लङ्घन गरेको घटना सेप्टेम्बरमा मात्रै सार्वजनिक भएको थियो ।
यस घटनाले अस्ट्रेलियाली नागरिकको तथ्यांक सुरक्षित राख्न प्रभावकारी सुरक्षा उपाय आवश्यक रहेको देखाएको समितिको भनाइ छ । समितिले अस्ट्रेलियामा एआई मोडेल प्रशिक्षण गर्न अनुमति दिनुअघि सुरक्षा निकायलाई नयाँ मोडेलको प्रारम्भिक पहुँच दिनुपर्ने सुझाव दिएको छ । साथै, सरकारी तथ्यांक भण्डारण प्रणालीमा प्रयोग भइरहेका सुरक्षा व्यवस्थाको तत्काल समीक्षा गर्न पनि आग्रह गरेको छ ।
अक्टोबरको सुरुमा संसदीय छानबिनका क्रममा उपस्थित ओपनएआईका प्रमुख रणनीति अधिकारी जेसन क्वोनले जुन महिनाको घटनाप्रति पुनः माफी मागेका थिए । उहाँले एआई मोडेलले अनुमति नपाएको तरिकाले इन्टरनेट पहुँच गरेमा कर्मचारीले प्रशिक्षण प्रक्रिया रोक्न सक्ने गरी थप निगरानी प्रणाली लागू गरिएको जानकारी दिनुभएको थियो ।
क्वोनले यस्ता सुरक्षा घटनाको अनिवार्य प्रतिवेदन बुझाउने व्यवस्था लागू गर्ने अस्ट्रेलियाको योजनालाई ओपनएआईले समर्थन गर्ने बताउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























