
ढाका, १ फागुन । बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले सन् २०२४ को विद्यार्थी नेतृत्वको विद्रोहपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा बहुमतसहित विजय हासिल गरेको दाबी गरेको छ ।
वर्षौंदेखि तीव्र राजनीतिक ध्रुवीकरण र विवादित चुनावले प्रभावित बङ्गलादेशको राजनीतिमा यो परिणामले नयाँ अध्याय सुरु गर्ने सङ्केत दिएको छ । निर्वाचन आयोगले अन्तिम आधिकारिक नतिजा सार्वजनिक नगरे पनि स्थानीय सञ्चारमाध्यमहरूले ३५० सदस्यीय संसद्मा बहुमतका लागि आवश्यक १५१ सिटको सीमा बिएनपीले पार गरेको जनाएका छन् ।
संसद्मा महिलाका लागि आरक्षित ५० सिट विजयी दलहरूबीच आनुपातिक रूपमा बाँडिने व्यवस्था छ । विपक्षी इस्लामवादी जमात–ए–इस्लामीले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएको छ, तर बिएनपीको मिडिया एकाइले पार्टीले एक्लै सरकार गठन गर्न पर्याप्त सिट जितेको जनाएको छ ।
बिएनपी ६० वर्षीय तारिक रहमानको नेतृत्वमा रहेको छ । उहाँ १७ वर्षको स्व–निर्वासनपछि गत डिसेम्बरमा लन्डनबाट स्वदेश फर्किनुभएको हो । उहाँ पूर्वप्रधानमन्त्री खालिदा जियाका सुपुत्र हुनुहुन्छ । खालिदाको डिसेम्बरमै निधन भएको थियो । पार्टीका वरिष्ठ संयुक्त महासचिव रुहुल कबिर रिजवीले जनतालाई धन्यवाद दिँदै विजयको बधाई व्यक्त गर्नुभएको छ ।
रहमानका प्रेस सचिव सालेह सिबलीका अनुसार उहाँले समर्थकहरूलाई विजय उत्सवका र्याली नगर्न, बरु नियमित शुक्रबारको नमाजसँगै विशेष प्रार्थना गर्न आह्वान गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























