सियोल, १ फागुन । कोरियाली प्रायद्वीपमा बढ्दो तनावका बीच उत्तर कोरियाले कथित दक्षिण कोरियाली ड्रोन उडान दोहोरिए कडा प्रतिआक्रमण गर्ने स्पष्ट चेतावनी दिएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको पछिल्लो ‘खेद’ अभिव्यक्तिलाई विवेकपूर्ण कदम माने पनि भविष्यमा यस्ता गतिविधि नरोके परिणाम गम्भीर हुने सङ्केत गर्नुभएको छ । दक्षिण कोरियाली एकीकरण मन्त्री चुङ डोङ–युङले मङ्गलबार कथित नागरिक ड्रोन उडानप्रति ‘गहिरो खेद’ व्यक्त गर्दै सियोल सरकारले युद्धद्वारा विभाजित दुई राष्ट्रबीच ‘आपसी मान्यता र शान्तिपूर्ण सहअस्तित्व’ चाहेको बताउनुभएको थियो ।

उहाँको उक्त अभिव्यक्तिपछि किम यो जोङको प्रतिक्रिया सार्वजनिक भएको हो । उत्तर कोरियाले गत महिना दक्षिण कोरियामाथि सेप्टेम्बर र जनवरीमा आफ्नो भू–भागमाथि निगरानी ड्रोन उडाएको आरोप लगाउँदै प्रतिशोधको चेतावनी दिएको थियो । तर दक्षिण कोरियाली सरकारले निर्दिष्ट मितिमा कुनै आधिकारिक ड्रोन सञ्चालन नगरेको दाबी गर्दै आरोप अस्वीकार गरेको छ ।

यद्यपि, सीमावर्ती क्षेत्रबाट ड्रोन उडाएको आशङ्कामा तीन जना सर्वसाधारणमाथि अनुसन्धान भइरहेको कानून कार्यान्वयन अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0