
काठमाडौं, २० पुस । संयुक्त राज्य अमेरिकाद्वारा भेनेजुएलामाथि गरिएको सैन्य आक्रमणप्रति अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार एक बैठकको आयोजना गरी अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरुको अन्तरक्रियाबाट सो निष्कर्षसहित विज्ञप्ती निकालिएको समुदायका तर्फबाट संयोजन गरिरहेका डा. हरि प्रकाश चन्दले बताए ।
कुनै पनि सार्वभौम राष्ट्रको भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता तथा सार्वभौमिकताको सम्मान गर्नु अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्त भएकोले यस प्रकारको बल प्रयोग संयुक्त राष्ट्रसंघको बडापत्रको धारा २(४) विपरीत रहेको उक्त बिज्ञप्तीमा जनाईएको छ ।
“अन्तर्राष्ट्रिय विवादहरूको समाधान संवाद, कूटनीति र शान्तिपूर्ण उपायहरू मार्फत खोजिनुपर्ने मान्यतामा दृढ विश्वास राख्दछौं । एकपक्षीय सैन्य हस्तक्षेपले विश्व शान्ति, क्षेत्रीय स्थायित्व तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थालाई कमजोर बनाउने जोखिम रहेको हाम्रो ठहर छ”, सो विज्ञप्तीमा उल्लेख गरिएको छ । “हामी हाम्रो देशको परराष्ट्र नीतिमा दृढ विश्वास गर्दछौं ।
असंलग्नता, पञ्चशीलका सिद्धान्तहरू, विश्व शान्तिको मान्यता, अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्र हाम्रो देशको परराष्ट्र नीतिका आधारस्तम्भहरु हुन्। यी आधारस्तम्भहरुले विश्वका हरेक मुद्धाहरुलाई शान्तिपुर्ण रुपमा संवाद मार्फत समाधान गर्न जोड दिन्छन्।
अमेरिका र भेनेजुएलाबीचका दुई-पक्षीय मुद्धाहरुलाई पनि ति दुवै देशबीचको शान्तिपूर्ण कुटनीतिक मध्यमबाट समाधान गर्न हामी अपील गर्दछौ”, विज्ञप्तीमा भनिएको छ। युद्धको सुन्दर विकल्प शान्तिपूर्ण सह-अस्तित्वको सम्बन्ध नै भएको र अन्तर्राष्ट्रिय सम्बन्धमा आपसी मतभिन्नताहरुलाई शान्तिपूर्ण कुटनीतिक पहलकदमीद्वारा समाधान गर्नुपर्ने कुरामा बिशेष जोड दिइएको छ ।
एक्काइशौं शताब्दीको विश्व-युद्ध, रक्तपात, दवदवा, नियन्त्रण, मानव अधिकारको गम्भीर उल्लंघन र निर्देशीत प्रजातन्त्रबाट मुक्त रही समान सम्बन्ध, सम्मानपूर्ण व्यवहार, र विश्वासपूर्ण कुटनीतिक संवादमा आधारित हुनुपर्दछ भनी अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरुले बताएका छन् ।
महाशक्ति राष्ट्रले मानव जातीको साझा भबिष्य र गन्तब्य पुरा गर्न युद्ध र सैन्य आक्रमणको विधिलाइ त्यागेर विश्वका सम्पूर्ण देशहरुलाई साझा गन्तव्यको साझेदारको व्यवहार गर्न विज्ञप्तीमा अपील गरिएको छ ।























