
वासिङ्टन, ९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानाडाबीच व्यापार सम्झौता चाँडै हुने दाबी गर्नुभएको छ । अमेरिकी मध्यावधि निर्वाचन हुन नौ दिन बाँकी रहँदा आइतबार मिशिगनको पोर्ट ह्युरोनमा आयोजित चुनावी सभामा उहाँले यस्तो बताउनुभएको हो । गत अगस्टमा व्यापार वार्ता असफल भएपछि दुई देशबीच तनाव बढेको छ । त्यसपछि ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न वस्तुमा थप कर लगाउनुभएको थियो ।
ट्रम्पले सभामा भन्नुभयो, “हामी यो समस्या चाँडै समाधान गर्नेछौँ । अहिले उनीहरू हामीलाई जे पनि दिन तयार छन् ।” उहाँले क्यानाडामाथि कर लगाउने निर्णयको बचाउ गर्दै क्यानाडाले वर्षौंदेखि अमेरिकाबाट अनुचित फाइदा उठाएको आरोप लगाउनुभयो । अगस्टमा वार्ता असफल भएपछि लगाइएको करले हक्कीका सामग्रीदेखि सिमेन्टसम्मका करिब २० अर्ब अमेरिकी डलर मूल्यका सामान प्रभावित भएका छन् ।
त्यसको जवाफमा क्यानाडाले पनि अमेरिकी उत्पादनमा समान मूल्यका सामानलाई लक्षित गरी कर लगाएको थियो । त्यसपछि ट्रम्पले केही वस्तुमा ५० प्रतिशतसम्म कर लगाएर प्रतिकार गर्नुभएको थियो । व्यापार विवादबाट प्रभावित सीमावर्ती राज्य मेनकी सिनेटर सुसान कोलिन्सको आग्रहपछि ह्वाइट हाउसले शुक्रबार तीमध्ये केही वस्तुमाथिको कर हटाएको थियो ।
आगामी मङ्गलबार हुने मध्यावधि निर्वाचनमा सिनेटको नियन्त्रण प्राप्त गर्ने प्रयासमा डेमोक्रेटहरूले कोलिन्सको सिटलाई लक्ष्य बनाएका छन् । ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुदेखि नै मित्रराष्ट्र र प्रतिस्पर्धी देशमाथि व्यापक कर लगाउँदै आउनुभएको छ ।
अन्य देशले अमेरिकाको आर्थिक फाइदा उठाएको आरोप लगाउँदै उहाँले विश्वव्यापी व्यापार व्यवस्थामा परिवर्तन गर्न खोज्नुभएको छ । उहाँले कतिपय करलाई राजनीतिक तथा विदेश नीतिसम्बन्धी उद्देश्यसँग पनि जोड्दै आउनुभएको छ ।





























