
सियोल, २० पुस । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ चीन भ्रमणमा निस्कनु केही घण्टाअघि उत्तर कोरियाले आइतबार समुद्रतर्फ धेरै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । छिमेकी मुलुकहरूले यसलाई क्षेत्रीय सुरक्षा चुनौतीका रूपमा लिएका छन् । दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफले जारी गरेको विज्ञप्तिअनुसार उत्तर कोरियाको राजधानी क्षेत्रबाट बिहान करिब ७ः५० बजे क्षेप्यास्त्र प्रक्षेपण गरिएको पत्ता लागेको हो ।
ती क्षेप्यास्त्रहरू करिब ९०० किलोमिटर उडेर समुद्रमा खसेका छन् । दक्षिण कोरिया र अमेरिकाका अधिकारीहरूले प्रक्षेपणसम्बन्धी विवरणको विश्लेषण गरिरहेका छन् । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको कुनै पनि उक्साहटको जवाफ दिन तयारी अवस्थामा रहेको र मिसाइल प्रक्षेपणबारे अमेरिका तथा जापानसँग नजिकको समन्वय र सूचना आदानप्रदान भइरहेको जनाएको छ ।
जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले कम्तीमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै यसले जापान मात्र नभई, क्षेत्र र विश्वको शान्ति तथा सुरक्षालाई गम्भीर खतरा पुर्याएको बताउनुभयो । विशेषज्ञहरूका अनुसार यी प्रक्षेपणहरू उत्तर कोरियाले हालैका हप्ताहरूमा देखाउँदै आएको हतियार प्रदर्शनको पछिल्लो कडी हुन् । उत्तर कोरियाले आगामी सत्तारूढ वर्कर्स पार्टीको सम्मेलनअघि रक्षा क्षेत्रमा हासिल गरेका उपलब्धिहरू देखाउने वा समीक्षा गर्ने उद्देश्य राखेको हुनसक्ने विश्लेषण गरिएको छ ।
यो सम्मेलन पाँच वर्षपछि पहिलोपटक हुने अपेक्षा छ । पर्यवेक्षकहरूका अनुसार सम्मेलनले अमेरिकासँगको नीतिगत दिशा र लामो समयदेखि रोकिएका वार्ताहरू पुनः सुरु हुने–नहुने सङ्केत दिन सक्छ । उत्तर कोरियाली नेता किम जोङ–उनले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ता विफल भएपछि आणविक हतियार विस्तारमा ध्यान केन्द्रित गर्दै आउनुभएको छ ।
युक्रेन युद्धको पृष्ठभूमिमा रुससँगको सहकार्य र चीनसँगको सम्बन्ध सुदृढ गर्दै उहाँले कूटनीतिक प्रभाव बढाएको विश्लेषण छ । दक्षिण कोरियाको गुप्तचर सेवाका अनुसार पार्टी सम्मेलन जनवरी वा फेब्रुअरीमा हुनसक्ने सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























