
पाम बीच (फ्लोरिडा), १४ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार फ्लोरिडास्थित आफ्नो रिसोर्टमा स्वागत गर्दै युक्रेन र रुसबीच शान्ति सम्झौता ‘पहिलेभन्दा धेरै नजिक’ पुगेको दाबी गर्नुभएको छ ।
यद्यपि उहाँले वार्ता अत्यन्तै जटिल रहेको र अझै पनि बिग्रन सक्ने सम्भावना रहेको स्वीकार गर्दै यसका कारण चार वर्षदेखि जारी युद्ध अझै लम्बिन सक्ने चिन्ता पनि व्यक्त गर्नुभयो । राष्ट्रपति ट्रम्पले यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब अढाई घण्टा लामो ‘उत्कृष्ट’ फोन वार्ता भएको जानकारी दिनुभयो ।
सोही पृष्ठभूमिमा जेलेन्स्कीसँग प्रत्यक्ष भेटपछि ट्रम्पले पुटिन अझै पनि शान्ति चाहनुहुन्छ भन्ने आफ्नो विश्वास दोहोर्याउनुभयो, यद्यपि युक्रेनमा रुसी आक्रमणहरू जारी नै छन् । संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले ‘रुस युक्रेनलाई सफल देख्न चाहन्छ’ भन्दै जेलेन्स्कीको ‘साहस’ को खुलेर प्रशंसा गर्नुभयो ।
विशेष गरी रुसले कब्जा गरेका युक्रेनी क्षेत्रहरूको भविष्य र भविष्यमा युक्रेनमाथि फेरि आक्रमण नहोस् भन्ने सुनिश्चित गर्ने सुरक्षा ग्यारेन्टीका विषयमा दुवै नेताले शान्ति प्रक्रियामा अझै कठिन प्रश्नहरू बाँकी रहेको स्वीकार गर्नुभयो । वार्तापछि ट्रम्प र जेलेन्स्कीले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसहित फिनल्यान्ड, फ्रान्स, जर्मनी, बेलायत र पोल्यान्डका नेताहरूसँग सामूहिक छलफल गर्नुभयो ।
जेलेन्स्कीका अनुसार राष्ट्रपति ट्रम्पले सम्भवतः जनवरीमा युरोपेली नेताहरूलाई ह्वाइट हाउसमा पुनः आमन्त्रण गर्न सहमति जनाउनुभएको छ । बैठक वासिङ्टन वा अन्य कुनै स्थानमा हुन सक्ने ट्रम्पले बताउनुभयो ।



























