पोखरा, ८ पुस । पोखरा महानगरपालिका वडा नं १५ नयाँगाउँमा रहेको सेन्ट मेरीज स्कुलले मंगलबार क्रिसमसको अवसरमा शान्ति र प्रेमसम्बन्धी अन्तरधार्मिक संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा हिन्दु, बौद्ध, मुस्लिम तथा इसाई धर्मका गुरुहरुले आ-आफ्नो धर्ममा रहेकाे मानवोचित शान्ति र प्रेम, मानव सभ्यता र संस्कारका बारेमा विद्वत भनाई व्यक्त गरे ।

कार्यक्रममा स्कुलका शिक्षकहरुको समूहले चारवटै धर्मका महत्वपूर्ण श्लोकहरुहरुलाई गाएर मन्त्रमुग्ध पारेका थिए ।
नेपाली पञ्चेवाजाको धूनबाट स्वागत गरिएको कार्यक्रममा शिक्षक तथा नृत्य शिक्षक नीतु गुरुङले शास्त्रिय नृत्य प्रस्तुत गरेकी थिईन् ।

डेपुटि इन्स्पेक्टर भोला बहादुर रावलको विशेष आतिथ्यतामा भएको कार्यक्रममा हिन्दु धर्मका गुरु सौरभ पौडेलले वेद र गीतामा भएका शान्ति र प्रेमका कुराहरु सुनाए । उनले सरस्वती बन्दना सुनाएपछि प्रवचन दिदै भने, हरेकले, वस्तुले धारण गरेका गुण नै धर्म हो । आगोले ताप दिनु उस्को धर्म हो । हिमाल राम्रो देखिनु, मान्छे सेवाभावको हुनु, हरियालीले वातावरण स्वच्छ राम्रो हुने धर्म हो ।

विश्वमा सबैभन्दा पूरानो र जेठो धर्म हिन्दु धर्म हो । यो सृष्टिको आदिकालबाट सुरु भएको हो । यसैमा भएका विभिन्न सोंचहरु बिज्ञानमा आविस्कारका आधार बनेका छन् ।

पूजाआजा गर्नु मात्रै खास धर्म होईन । उनले भने, हाम्रो संस्कृति, सभ्यता र परम्परामा नै शान्ति, माया र सद्भाभव रहेको बताउँदै मातृ देवो भवः,पितृ देवो भवः, अतिथि देवो भवः त्यसै भनिएको होईन।

बाैद्ध धर्म गुरु डा. खेन्पो पेम्बा दोर्जेले मानिसमा सबैको भलो हुने सोंच, बिचार र परिणामका लागि सोहि अनुसारको कर्म हुनुपर्ने बताए । बौद्धग्रन्थ त्रिपिटकले बोधीचित्तको कुरा गरेको छ ।

हामीमा जतिपनि सुखको अनुभूति हुन्छ त्यो अरुको भलोबाट मात्रै हुन्छ । उनले भने, आफ्नो मनलाई काबुमा राख्नुपर्ने, म र मेरोबाट माथि उठेर हामी र हाम्रो वा अरुको भलोको बारेमा सोच्ने र काम गरेको जस्तो ठूलो धर्म अरु हुँदैन ।

म र मेरो भन्ने हो भने द्वन्दको विजारोपन हुन्छ तर हामी हाम्रो भनेर जाँदा मेलमिलाप, शान्ति र प्रेमको अनुभूति हुन्छ ।

इस्लाम धर्म गुरु मौलाना इमाम हुसेन अलिले कुरान हाम्रो मुल ग्रन्थ हो भने । सृष्टिकर्ता जस्ले हामीलाई बनाए उनलेनै शान्ति र प्रेमको कुरा गरेका छन् । र हामीले शान्ति र प्रेमबाटै कुनैपनि कुराको सुरुआत गर्छाै, उनले भने । इस्लामलाई पछ्याउनु नै शान्ति र प्रेमको बाटोमा जानु हो ।

अलिले भने, पैगम्बरले भन्नुभएको छ, कि निर्दोषलाई मार्नु भनेको सारा जनलाई मारेको हो । त्यसैले मानिसले शान्ति पाउनका लागि अनुशासन, आचरण, व्यवहार राम्रो हुनुपर्ने र लालच नहुनु हो ।

हामीले आफ्नो छेउको मानिस सुरक्षित हुनुपर्छ, उसको अधिकार सुरक्षित हुनुपर्छ भन्छौ ।

इसाई धर्मका पास्टर प्रकाश श्रेष्ठले संसारमा जे जति छ यो सबै परमेश्वरको कृपाले भएको बताए । प्रभु एशु जब आउनु भयो उहाँले गरिबलाई धनि, रोगिलाई निरोगी र सहारा नभएकालाई सहारा दिनुभयो अनि प्रेम र सद्भाव प्रस्तुत गर्नुभयो ।

उनले भने,, बाईबलले मानिसबीच एकता, माया, सद्भाव र शान्तिको कुरा गरेको छ ।

परमेश्वरले अरुलाई सहयोग गर, छिमेकीलाई प्रेम गर, सत्रुलाई पनि प्रेम गर, सेवा गर र जहिले पनि भलाईको काम गर भनेर भनिएको कुरा सुनाए । उनले प्रभु एशु शान्ति र प्रेमको बाहक भएको बताए ।

प्रिन्सिपल सिस्टर जेसि सिजेले शान्ति, प्रेम, सहअस्तित्व र मानवीय मूल्यलाई व्यवहारमा उतार्न सबैलाई आह्वान गरिन्। जीवनका साना अनुभवले पनि समाजमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्ने उल्लेख गरिन्।

केही वर्षअघि भएको सानो घटनाकाे उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले अभिवादन, मुस्कान र सानो प्रेमपूर्ण कर्मले सम्बन्धमा आएको दूरी हटेको अनुभव सुनाइन्।

उनका अनुसार शान्ति ठूला भाषण वा औपचारिक घोषणाबाट होइन, दैनिक जीवनका साना र सरल कामबाट सुरु हुन्छ।

कार्यक्रममा बौद्ध, हिन्दु, इस्लाम र इसाई धर्मका प्रतिनिधिहरूबाट प्रस्तुत सन्देशलाई स्मरण गर्दै प्रिन्सिपल जेसिले भाषा, धर्मग्रन्थ र प्रतीक फरक भए पनि सबै धर्मको मूल भावना एउटै रहेको बताइन्। उनले हिंसा मानव हृदयबाट सुरु हुने र शान्ति पनि त्यहीँबाट जन्मिने शिक्षा सबै धर्मले दिने उल्लेख गरिन्।

क्रिसमसको सन्दर्भमा उनले येशू ख्रीष्ट विभाजन सिर्जना गर्न नभई भगवान र मानवबीच तथा मानव–मानवबीच सम्बन्ध जोड्न आएको बताइन्। उनका अनुसार क्रिसमस केवल ऐतिहासिक जन्मोत्सव सम्झने पर्व मात्र नभई, “म शान्तिको संवाहक बनेको छु कि छैन र म अरूका लागि प्रेमको उपहार बन्न सकेको छु कि छैन” भन्ने प्रश्न आफूलाई सोध्ने दिन हो भनिन्।

विश्व द्वन्द्व, असहिष्णुता र डरले आक्रान्त भइरहेका बेला समाज मौन दर्शक बनेर बस्न नहुने प्रिन्सिपलको भनाइ थियो। उनले दयालु शब्द, इमानदार व्यवहार, सम्मानजनक संवाद र करुणामय हृदयमार्फत हरेक व्यक्ति ‘जिउँदो क्रिसमस उपहार’ बन्न सक्ने धारणा व्यक्त गरिन्। उनले घर, विद्यालय, पूजा स्थल र समाजमा शान्तिको कुरा गर्न सजिलो भए पनि क्षमा गर्न, ध्यान दिन, विविधतालाई सम्मान गर्न र आफूभित्र परिवर्तन ल्याउन कठिन हुने बताइन्। यही चुनौती आज यहाँ प्रतिनिधित्व गरिरहेका सबै धर्म, संस्था र समुदायको साझा जिम्मेवारी भएको उनले उल्लेख गरिन्।

कार्यक्रमको अन्त्यमा प्रिन्सिपलले शान्ति आफूबाटै सुरु गर्न, प्रेमलाई व्यवहारमा उतार्न र समाजमा आशा फैलाउन सबैलाई आग्रह गर्दै उपस्थित सबैलाई क्रिसमसको शुभकामना व्यक्त गरिन्। साे अवसरमा शिक्षक विनन्जय गुरुङले प्रार्थना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पोखराका शैक्षिक, प्रशासनिक, स्वास्थ्य क्षेत्रका, अभिभावक, जनप्रतिनिधि लगायतका विभिन्न व्यक्ति सरिक भएका थिए । कार्यक्रमकाे सञ्चालन शिक्षक प्राश्ना गुरुङ र रन्जिता पाेखरेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
0
+1
0
+1
0