
भरतपुर (चितवन), ११ जेठ । चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गरे। साथीभाइले माछापालन गरेको देखेर उनले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गरेका थिए।
सुरुआती कठिनाइका बाबजुद, अर्यालले माछापालनलाई व्यावसायिक रुपमा विस्तार गरे। पछि राम्रो हुँदै गएपछि उनले २०७३ सालमा चार बिघा जमिन थपेर ६ प्रजातिका माछापालन गर्न थाले। अहिले, चार बिघा जमिनको जलासयमा माछा छन् । उनले वार्षिक रु एक करोड ५० लाखको माछा बिक्री गर्छन्। खर्च कटाएर रु ७० लाख बढी नाफा हुने गरेको अर्यालले बताए।
“वार्षिक रु ६० लाख जति दानामा खर्च हुन्छ, विद्युत् लगायतका अन्य क्षेत्रमा खर्च हुन्छ”, उनले भने, “रु वार्षिक ७० लाख त कम्तीमा बचत हुन्छ ।” उनको फर्ममा वार्षिक दुई सय टनभन्दा बढी माछा उत्पादन हुन्छ । यतिखेर १० टन माछा बजार लैजाने तयारी छ ।
अर्यालले माछापालनमा आधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादन र बिक्रीमा ध्यान दिएको छ । उजले उत्पादन गरेका माछा चितवनसहित काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा बिक्रीका लागि लैजाने गरिन्छ ।
माछापालनले अर्यालको जीवनस्तरमा महत्वपूर्ण सुधार ल्याएको छ । उनले आफ्नो आम्दानीबाट थप जमिन किनेर, घर बनाएका छन् भने गाडी किन्ने योजनामा छन्।
माछापालन व्यवसायबाट नै अर्यालले तीन छोराछोरीलाई चितवनको प्रतिष्ठित बोर्डिङ स्कुलमा पढाइरहेका छन्। उनले आफ्नो फर्ममा ६ जनालाई रोजगारी दिनुभएको छ । आगामी दिनमा माछापालन व्यवसायलाई एग्रो टुरिजममा विस्तार गर्ने योजना रहेको उनले बताए।
“पोल्ट्री क्षेत्रमा हात हालेको छु । त्यसबाट राम्रो आम्दानी हुन सकेन”, अर्यालले भने, “यतिबेला कागती खेतीमा पनि लगानी गरेको छु, यसलाई एग्रो टुरिजममा लैजाने योजना छ ।”
श्रीमान्–श्रीमती नै माछापालनमा खटिन्छन् । उनले माछापालनमा रुची राख्ने अन्य कृषकलाई प्रशिक्षण र सल्लाह प्रदान गर्दै आएका छन् । ४५ वर्षीय अर्याल माछापालनमा त्यतिकै लागेका होइनन् ।
पैसा कमाउन सन् २००५ मा मलेसिया पुगेका उनी २४ महिना बसे। त्यतिखेर नेपालमै केही गर्ने सोचका साथ राम्रै पैसा कमाएर स्वदेश फर्किएका अर्याल यहाँ भने जस्तो नभएपछि फेरि सन् २००८ मा फेरि युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई गए ।
दुई वर्ष दुबई बसेर फर्किएका अर्याल परम्परागत खेतीपाती मै लागे। पछि भरतपुरको बजार क्षेत्रमा माछापालन गरेको देखे । यसबाट फाइदा हुने पाएपछि माछापालन गर्न थालेका हुन्। माछापालन गर्दा सुरुवाती दिनमा धेरै दुःख पाएको उनीसँग अनुभव छ ।
“एक कठ्ठामा माछा कति राख्ने, कसरी राख्ने केही ज्ञान थिएन, अन्धाधुन्ध नै माछापालन गर्न थालियो”, उनले भने, “सुरुमा व्यापारीले ठगे । दुई तीन वर्ष घाटा नै भयो ।” पछि माछापालनसम्बन्धी बुझ्दै गएपछि सहज भएको उनको भनाइ छ । सुरुआती दिनमा अर्यालले बङ्गलादेशबाट माछाका भुरा ल्याएर माछापालन गर्न थाले। त्यतिखेर भारतिय बाटो हुँदै लुकाइछिपाइ गरेर भुरा ल्याउनुपर्ने बाध्यता रहेको उनले सुनाए।
अहिले भने चितवनमै सरकारीस्तरबाट माछाका भुरा उत्पादन हुँदा माछापालन गर्न सहज भएको उनले बताए। अर्याल पछिल्लो अधिकांश किसानका लागि प्रेणाका स्रोत बनिरहेका छन्।
माछापोखरीमा आर्यालले रु दुई करोड लगानी गरेका छन् । सात पोखरीमा माछा छन् । सुरुमा पोखरी खन्दा नै रु एक करोड खर्च लागेको उनले बताए। जग्गा भाडामा लिएर माछापालन गरेका उनकाृ २८ कठ्ठा जमिन आफ्नै हो । अहिले चितवनमा पन्ध्र सयभन्दा बढी किसान माछापालनमा लागेका छन् । नेपालमा माछापालनमा राम्रो सम्भावना रहेको उनको भनाइ छ ।
“विदेश जानुभन्दा, यहाँ नै उत्पादनमूलक काम गरेर राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भने।
राज्यले दाना र बिजुलीमा छुट दिएमा नेपाली माछापालन किसान अगाडि बढ्न सक्ने उनले बताए । “माछापालनमा राम्रो आम्दानी छ तर राज्यले हेर्ने नजर गलत छ”, अर्यालले भने, “देश धनी बनाउने हो भने युवालाई रोकेर कृषिमा लगानी गर्न जरुरी छ ।”
उनले भारतबाट अवैध रुपमा माछाको आयात नरोकिदा नेपाली किसान मारमा पर्दै आएको गुनासो गरे। “भारतका माछालाई व्यवस्थापन गर्न सके नेपालमा उत्पादन भएका माछाले सहजै बजार पाउँछन्”, उनले भने, “राज्यले ठोस योजना बनाएर अवैध कारोबार रोक्नुपर्छ ।’
माछा व्यवसायी सङ्घ चितवनका उपाध्यक्षसमेत रहेका अर्यालले सङ्घकै नेतृत्वमा अवैध माछा नियन्त्रण गरेर नष्ट गर्ने अभियान चलाए पनि सार्थकता पाउन नसकेको बताए ।























