
थियानजिन (चीन), १७ भदौ। शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ ।
व्यस्त कार्यतालिकाबीच पनि थियानजिनस्थित होटेल रिट्ज कार्लटोनमा भएको भेटवार्ताको प्रारम्भमा सञ्चारकर्मीसहितको उपस्थितिमा केहीबेर दुई नेताबीच छलफल भएको थियो ।
त्यसपछि करिब आधा घण्टा एक्लाएक्लै छलफल भएको थियो । छलफलको अन्तिममा प्रतिनिधिमण्डलका सहभागी सदस्यलाई राष्ट्रपति पुटिनले भेटे।
नेपाल र रूसबीचको द्विपक्षीय सम्बन्ध तत्कालीन सोभियत सङ्घ हुँदा सन् १९५६ जुन ५ देखि जुलाई ९ तारिखसम्म स्थापित भएको स्मरण गर्दै राष्ट्रपति पुटिनले नेपाल र रुसबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताए।
प्रधानमन्त्री ओलीले व्यस्तताबीच नेपाललाई समय दिनुभएकामा राष्ट्रपति पुटिनलाई धन्यवाद दिँदै आपसी सम्बन्धलाई अझ विस्तार गर्न आग्रह गरे । उनले रुसमा पढेर स्वदेश फर्किएकाहरूले चिकित्सा क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा सेवा गरिरहेका उल्लेख गर्दै रुसको शैक्षिक अवस्था गुणस्तरीय रहेकामा प्रशंसा गरे।
उनीहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान तथा शैक्षिक, सांस्कृतिक, पर्यटकीय, सूचना प्रविधि, लगानीलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । यसअघि प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चीनफिङलगायत विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता भएको थियो ।























