
बैङ्कक, ६ भदौ । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा शुक्रबार शाही मानहानिको आरोपबाट निर्दोष ठहर भएका छन् । यसले दुई दशकदेखि थाई राजनीतिमा प्रभाव जमाइरहेको उहाँको परिवारलाई परेको ठूलो दबाब हटाएको छ । थाक्सिनको परिवार लामो समयदेखि सेना समर्थक र राजतन्त्र पक्षधर अभिजात वर्गसँग टकरावमा रहँदै आएको छ ।
यी अभिजात वर्गले थाक्सिनको लोकप्रियतावादी आन्दोलनलाई थाइल्यान्डको परम्परागत सामाजिक संरचनाका लागि खतरा ठान्दै आएका छन् । सधैँ राज्यसत्ता कब्जाको सङ्घर्ष चलेको थाई राजनीतिमा उनीहरूको भूमिका विद्रोह, सडक प्रदर्शन र अदालतका मुद्दाहरूको कथामा प्रस्ट देखिएको छ ।
छयत्तर वर्षीय थाक्सिनलाई राजा महा भाजिरालोङ्गकोर्न र उहाँको परिवारविरुद्ध आलोचना गर्ने कानूनअनुसार १५ वर्षसम्म कैद हुन सक्थ्यो । तर दुई महिनाभन्दा बढी चलेको सुनुवाइपछि उहाँ निर्दोष ठहर भए। उनका वकिल विन्यात च्याटमन्ट्रीले बैङ्ककस्थित फौजदारी अदालतमा पत्रकारलाई भने, “अदालतले प्रमाण पर्याप्त नभएको ठहर गर्दै आरोप खारेज गर्यो ।”
तर उनको परिवार अझै सङ्कटमा छ । उनकी छोरी पेटोङ्टार्न सिनावात्रा हाल प्रधानमन्त्रीको पदबाट निलम्बनमा छन्। उनले अर्को हप्ताको अदालतको फैसला पछि पद गुमाउनु पर्ने सम्भावना छ । अदालतबाट मुस्कुराउँदै निस्केका थाक्सिनले पत्रकारलाई छोटकरीमा भने, “मामिला खारेज भयो ।”




























