
पोखरा, २४ जेठ । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सहयोगमा १ सय ७७ तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । शनिवार पोखरामा एक कार्यक्रमको आयोजना गरि २२ जिल्लाका बिद्यार्थीहरुलाई उक्त छात्रवृत्ति वितरण गरिएको हो ।
बिभिन्न जिल्लाका हाल कक्षा ९ मा पढ्ने ९ जना विद्यार्थीहरुलाई कक्षा १२ सम्म अध्ययन गर्नको लागि छात्रवृत्ति प्रदान गरेको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि चिल्ड्रेन ऐकेडेमिका संस्थापक प्रिन्सिपल हिमाल गुरुङले प्रतिष्ठानको सहयोगले तमु समुदायका विद्यार्थीहरुलाई शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर तमुले विद्यार्थीहरुलाई सुझाव दिदै शिक्षाको साथमा क्षमता अभिबृद्धिसगैँ अहिलेको परिवेशमा सिपयुक्त शिक्षा लिन आग्रह गरे । उनले सहयोग रकम ठुलो नभएको बताउदै बिद्यार्थीहरु प्रतिष्ठानसगँ जोडिनु महत्वपूर्ण बिषय भएको उल्लेख गरे ।
कार्यक्रममा संस्थाका सल्लाहकार एवम अधिवक्ता कर्णवहादुर तमुले संस्था स्थापनासगैँ तमु समुदायको हक हितमा काम गरिरहेको बताए । छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुलाई उक्त छात्रवृत्तिको सहि सदुपयोग गर्न उनको आग्रह थियो ।
छात्रवृत्ति प्राप्त विद्यार्थीहरुको तर्फबाट बोल्दै वनस्थली मावि लम्जुङको कक्षा १० मा अध्ययनरत संगीता गुरुङले प्रतिष्ठानको सहयोगले राहत मिलेको बताउदै उर्जाकासाथ अध्ययनलाई अघि वढाउने बताइन् ।
कार्यक्रममा संस्थाका प्रथम उपाध्क्षय, एवम् छनोट उपसमिति संयोजक श्रीजङ तमु, संस्थापक अध्क्षय खेम तमु, जिफानका पूर्व अध्क्षय भोजबहादुर तमु, संस्थापक टेक बहादुर तमु, तमु चलचित्रका निर्माता गमबहादुर तमु, संस्थाका सचिव कञ्चन गुरुङ लगाएतको सहभागिता रहेको थियो ।
२०५८ सालमा स्थापना भएको प्रतिष्ठानले २०६६ सालदेखि छात्रवृत्ति वितरण गर्दै आएकोमा हालसम्म ६ सय ४५ जनालाई छात्रवृत्ति वितरण गरिसकेको छ ।
























