
पाेखरा, २४ जेठ । नेपाल बीमा प्राधिकरण (NIA), गण्डकी प्रदेश, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (NIPS), पोखरा च्याप्टर, नेपाल इन्स्योरेन्स सर्भेयर संघ (NISA), पोखरा च्याप्टर, नेपाल इन्स्योरेन्स तथा जोखिम व्यवस्थापन संघ (NIRMA) काे संयुक्त रूपमा “इञ्जिनियरिङ इन्स्योरेन्सका समसामयिक विषयहरू” विषयक एक दिवसीय सेमिनार शनिबार पाेखरामा आयोजना गरिएको छ ।
कार्यक्रममा निर्जीवन बीमा कम्पनीको गण्डकी प्रदेशमा कार्यरत ९० जना कर्मचारीहरुको सहभागिता थियो । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी, पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटीका कार्यकारी सदस्य सुरेश रेग्मीले र स्वागत नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटीका सचिव सूर्य बहादुर के.सी.ले गरेका थिए । कार्यक्रको उद्घाटन नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख शंभु प्रसाद मिश्रले पानसमा बत्ति बालेर गरेका थिए ।
सेमिनारमा चार सत्रहरु रहेका थिए । पहिलो सत्र बीमा सम्बन्धी कानूनी व्यवस्था सम्बन्धी रहेको थियो । उनले बीमा सम्बन्धी सबै खालका ऐन, नियमावली, निर्देशिका लगायतका बिषयमा प्रकाश पारे । कानूनको जानकारी नभएको कारणले दण्डबाट छुट पाइदैन भन्दै बीमा सम्बन्धी सबै कानूनी बिषयहरुको जानकारी लिनु बीमामा कार्यरत कर्मचारीहरु सबैको कर्तव्य हो भन्दै सेवाग्राहीको हितमा दत्तचित्त भएर लाग्न अनुरोध गरे ।
संस्थागत सुशासन आजको पेचिलो बिषय बनेको हुँदा केन्द्र देखि जिल्लासम्म सुशासन कायम राख्ने काम बिमक र नियामक दुवै पक्षको हो भने।
दोश्रो सत्रमा बीमाका समसामयिक बिषयहरु, चुनौती र आगामी बाटो शिर्षकमा नेपाल इन्स्योरेन्स तथा जोखिम व्यवस्थापन संघका अध्यक्ष तथा पोखरा विश्वविद्यालयका सहप्राध्यापक डा. रविन्द्र घिमिरेले आफ्नो प्रस्तुति दिए ।
उनले बीमाका समसामयिक बिषयहरुको बारेमा बिस्तृत रुपमा चर्चा गर्दै बीमा उद्योगले झेल्दै आएका बिबिध समस्याहरुको बारेमा प्रकाश पारे । आगामी बाटो के हुन सक्दछ भन्ने बारेमा सहभागीहरुलाई जानकारी दिए। उनले यी विवध विषयहरुमा बीमाका समसामयिक बिषयहरुको बारेमा बाेलेका थिए ।
डिजिटल बीमा, सामाजिक स्वास्थ्य बीमा र सामाजिक सुरक्षा प्रणाली, जलवायु परिवर्तन र विपद् बीमा, कृषि बीमा र ग्रामीण वित्तीय समावेशीकरण, साइबर बीमा र सूचना, सुरक्षासँग सम्बन्धित जोखिम पुनर्बीमा र जोखिम स्थानान्तरणको नवीन विधिहरू, सामूहिक बीमा योजनाहरू, समावेशी बीमा, बीमामा कृत्रिम बुद्धिमत्ता, हरित बीमा, बीमाको पहुँच र समावेशीताका बारेमा बाेलेका थिए ।
यस्तै, निजी क्षेत्रद्वारा सामाजिक बीमा योजनाको बहिष्कार र अस्वीकार, बीमा धोखाधडी, प्रीमियम निर्धारणमा पारदर्शिता र विश्वसनीयता, दावी अस्वीकृतिसम्बन्धी विवादहरू, बीमा नियमन र सुपरीवेक्षणमा कमजोरी, बीमा साक्षरताको कमी, वित्तीय दिगोपनमा चुनौती, विपद् जोखिमको पुनर्बीमा, अभाव बीमा, कम्पनी र ब्रोकरहरूबीचको हितको द्वन्द्वका बारेमा बताए ।
तेश्राे सेसन हिमालयन जनरल इन्सुरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत, बीमा बिज्ञ, तथा हाल यूआइबी रिइन्स्योरेन्स ब्रोकर युकेका नेपाल प्रतिनिधि सुसिल बज्राचार्य, अण्डराइटिङ्ग इन इन्जिनियरिंग इन्सुरेन्स“ शिर्षकसंग सम्बन्धित थियो । उनले ठेकेदारले कुनै पनि निर्माण सम्बन्धी कार्य गर्नुपर्दा इन्जिनियरिंग बीमा गर्नु आवश्यक हुन्छ भन्दै अन्डरराइटिङको मुख्य पक्षहरू जोखिम मूल्याङ्कन Underwriting निर्धारण तथा प्रिमियम निर्धारण, सर्त तथा बहिष्करणहरू, दस्तावेज जाँचका बिषयमा प्रकाश पारे।
चैथो सेसनमा सर्भेयर, इन्जिनियर र बीमा बिज्ञ बुद्धि राज अधिकारीले रिस्क टु रिकभरीका बिषयमा लिएका थिए। उनले प्रोजेक्टका किसिमहरु, इन्जिनियर बीमाका प्रकारहरु, जोखिम बहन हुने र नहुने बिषयहरु, इन्जिनियर बीमाका समस्याहरु म्युनिख रि र नेपालको सन्दर्भका बारेमा प्रकाश पारे । सेमिनारको अन्त्यमा सहभागीको तर्फबाट तालीमको बारेमा प्रतिक्रिया लिइएको थियो भने सहभागीलाई प्रमाणपत्र बितरण गरिएको थियो
























