
काठमाडौं, ८ असाेज । नेपालगन्जबाट डोल्पाका लागि उडेको सीता एयरको जहाज जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। बिहीबार बिहान ८ः२५ बजे ९ एन–एजेएच (9N-AJH) कलसाइन भएको उक्त जहाज धावनमार्गमा अवतरण गर्दा दुर्घटनाग्रस्त भएको हो।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक पदम रावलका अनुसार जहाजमा १३ जना यात्रु र तीन जना चालक दलका सदस्य गरी कुल १६ जना सवार थिए। सवार यात्रुमध्ये सात जना विदेशी नागरिक रहेका छन्।
धावनमार्गमा अवतरणका क्रममा जहाजको पछाडिपट्टिको दायाँ चक्का अचानक बाहिर निस्किएको थियो। चक्का निस्किएलगत्तै चालक (पाइलट) ले तत्कालै सुझबुझका साथ इन्जिन बन्द गरेपछि जहाजमा हुन सक्ने सम्भावित आगलागी र ठूलो क्षति टरेको प्रहरीले जनाएको छ। दुर्घटनाबाट कुनै पनि मानवीय क्षति भएको छैन, सबै यात्रु र चालक दलका सदस्यहरू सकुशल रहेका छन्।
दुर्घटनाग्रस्त जहाज अहिले पनि जुफाल विमानस्थलकै धावनमार्गमा रहेकाले केही समयका लागि उडान र अवतरण प्रभावित भएको छ।
डोल्पाको जुफाल विमानस्थलमा नेपाल वायुसेवा निगमले साताको दुई दिन नियमित उडान भर्दै आएको छ भने सीता, तारा लगायतका निजी वायुसेवा कम्पनीहरूले यात्रुको उपलब्धताका आधारमा चार्टर तथा नियमित उडान गर्दै आएका छन्।

























