
काठमाडाैं, २७ भदाै। नेपाल एसीसी प्रिमियर कपको नयाँ च्याम्पियन बनेको छ। मलेसियाको क्वालालम्पुरमा शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४५ रनले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा जमाएको हो। यस जितसँगै नेपालले आगामी एसिया कपमा आफ्नो स्थान समेत सुरक्षित गरेको छ।
नेपालले जितका लागि दिएको ३१४ रनको फराकिलो लक्ष्य पछ्याएको यूएई निर्धारित ५० ओभरको खेलमा २६८ रनमा अलआउट हुन पुग्यो। यूएईका लागि राहुल चोप्राले ११५ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। त्यस्तै शोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रित सिंहले ३३ र खुजैमा तनवीरले १५ रनको योगदान दिए।
नेपालको बलिङतर्फ करण केसीले सर्वाधिक ३ विकेट लिए भने ललित राजवंशीले २ विकेट हात पारे। सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, टोलीका कप्तान रोहित पौडेल र गुल्सन झाले समान १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रनको बलियो योगफल तयार पारेको थियो। नेपालको जितमा आसिफ शेखको शतकीय योगदान मुख्य रह्यो। उनले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०४ रन बनाए।
त्यस्तै गुल्सन झाले ५२ रनको अर्धशतकीय पारी खेले भने अर्जुन कुमालले ४३ र कप्तान रोहित पौडेलले ४० रन जोडे। दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले १५, इशान पाण्डेले १३, सन्दीप जोराले ७ तथा करण केसी र ललित राजवंशीले १-१ रन बनाए।
यूएईका बलिङतर्फ इब्रार अहमदले ४ विकेट तथा खुजैमा तनवीरले २ विकेट लिए। हैदर अली र अदीब उस्मानीका नाममा १-१ विकेट रह्यो।
प्रिमियर कपको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएपछि नेपाली क्रिकेट प्रशंसकहरूमा खुसीको माहोल छाएको छ।

























