
कास्की, २१ भदौ। भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि त्यसको नकारात्मक असर देशको पर्यटकीय राजधानी पोखराको पर्यटन र समग्र अर्थतन्त्रमा पर्न थालेको भन्दै निजी क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनको शनिबार आयोजित उद्घाटन कार्यक्रममा सहभागी उद्योगी तथा पर्यटन व्यवसायीहरूले विपद् प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सुरक्षित र सञ्चालनमा रहेको सन्देश अन्तरराष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।
बाढीका कारण पूरै देश नै असुरक्षित बनेको जस्तो गलत र नकारात्मक सन्देश बाहिर गएकाले पोखरा सुरक्षित रहेको र भ्रमणका लागि उपयुक्त गन्तव्य भएको सन्देश तत्काल प्रवाह गर्नुपर्नेमा उनीहरूले जोड दिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले विपद्सम्बन्धी नकारात्मक सन्देशका कारण पर्यटक आगमन प्रभावित भई पोखराको अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने चेतावनी दिए। “प्राकृतिक विपत्तिपछि अहिले पर्यटक आउन सकेका छैनन्। लामो समय पर्यटक आएनन् भने पोखराको अर्थतन्त्रमा कस्तो असर पर्ला? यसबारे चिन्तनमनन गर्दै समाधानका लागि अहिल्यै लाग्नुपर्छ, ढिला गर्ने छुट हामीलाई छैन,” मुल्मीले भने।
त्यस्तै, नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले विपद्को प्रत्यक्ष असर नपरेका क्षेत्रमा समेत पर्यटन गतिविधि घटेको बताउँदै पोखरासहित नेपालको पर्यटन क्षेत्रको विकास तथा अन्तरराष्ट्रिय प्रचारप्रसारमा सक्रिय भूमिका खेल्नुपर्ने खाँचो औँल्याए।
अन्तरराष्ट्रिय सहयोगको आह्वान र दीर्घकालीन योजनामा जोड
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय समुदायसँग सहयोग मागिएको जानकारी दिए। महासङ्घले विश्वका ७० वटा उद्योग तथा वाणिज्य सङ्घलाई पत्र पठाएर सहयोगको आग्रह गरेको बताउँदै उनले यस्तो विपत्तिका बेला सम्पूर्ण निजी क्षेत्रलाई मानवीय भावनाका साथ खुलेर सहयोग गर्न आह्वान गरे।
अध्यक्ष श्रेष्ठले विपद् न्यूनीकरणका लागि पूर्वतयारी, नदी किनारका अव्यवस्थित बस्ती विस्तार नियन्त्रण र हिमताल जोखिमको दीर्घकालीन व्यवस्थापनमा जोड दिए। साथै, निजी क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेकाले व्यवसायीलाई लगानी र उद्योग सञ्चालनका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गरे।
तीन विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक’ प्रदान
सोही कार्यक्रमका अवसरमा लक्ष्मी ग्रुप प्रालिद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित ‘लक्ष्मी विद्या पदक–२०८२’ बाट कास्की जिल्लामा व्यवस्थापन सङ्कायअन्तर्गत उत्कृष्ट नतिजा हासिल गर्ने तीन विद्यार्थीलाई सम्मानित गरिएको छ।
सम्मानित हुनेहरूमा स्नातकोत्तर तह (एमबिएस) तर्फ जनप्रिय बहुमुखी क्याम्पसकी ज्योति तामाङ, स्नातक तह (बिबिए) तर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी समीक्षा तिमिल्सिना र बिबिएसतर्फ जनप्रिय बहुमुखी क्याम्पसका सन्तोष थापा रहेका छन्। उनीहरूलाई माला, दोसल्ला, ताम्रपत्र, विद्यापदक तथा नगद पुरस्कार प्रदान गरिएको थियो। यो पदकबाट हालसम्म ७६ जना विद्यार्थी सम्मानित भइसकेका छन्।
महाधिवेशनअन्तर्गत शनिबार नै सङ्घको नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यतालिका रहेको छ। नेतृत्वका लागि उत्तममान बुद्धाचार्य, शोभा गौतम, बलराम आचार्य र अर्जुन पोखरेल प्रतिस्पर्धामा रहेका छन्।


























