पोखरा, १५ भदौ । पोखरा–३, नदीपुर भिसी मार्गस्थित माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी विद्यार्थी नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम आयोजना गरिएको छ।

सोमबार आयोजित कार्यक्रममा विद्यार्थीको चौतर्फी विकाससँगै मूल्यमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङले बताए ।

उनले पढाइसँगै विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, अनुशासन, सकारात्मक सोच र प्रभावकारी सञ्चार सीपको विकास आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा व्यक्तित्व विकासका विषयमा प्रशिक्षण दिँदै गुरुङले विद्यार्थी जीवनदेखि नै आफ्नो क्षमता पहिचान गरी त्यसलाई सही दिशामा प्रयोग गर्न सके भविष्यमा सफल नेतृत्वकर्ता बन्न सकिने बताए। व्यक्तित्व विकास एकैपटक हासिल हुने विषय नभई निरन्तरको अभ्यास, व्यवहार र सकारात्मक सोचबाट विकास हुने उनको भनाइ थियो ।

विद्यालयका प्रधानाध्यापक सइन्द्रराज श्रेष्ठले विद्यालयमा गठन भएका विभिन्न क्लबको काम, कर्तव्य र जिम्मेवारीका बारेमा जानकारी गराए। उनले विद्यार्थीलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा सहभागी गराई नेतृत्व विकासका अवसर प्रदान गर्दै आएको बताए ।

कार्यक्रममा प्लस टु एकेडेमिक संयोजक गोविन्द सुवेदीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे। नेतृत्व विषयमा एमफिलका शोधार्थी शिक्षक कृष्ण लम्साले विद्यार्थीलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए ।

विद्यालयमा रहेका स्पोर्टस् क्लब, सोसल सर्भिस क्लब तथा म्युजिक, आर्ट एण्ड लिटरेचर क्लबका प्रमुख, शिक्षक तथा विद्यार्थीको कार्यक्रममा सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयका प्रशासक चित्र गुरुङ, स्पोर्टस् क्लबका अध्यक्ष, सोसल सर्भिस क्लबकी अध्यक्ष जेनिफा गुरुङ, गेम एण्ड स्पोर्टस् क्लबका अध्यक्ष पंकज श्रीस, म्युजिक, आर्ट एण्ड लिटरेचर क्लबका अध्यक्ष साजन तामाङ तथा कक्षा प्रतिनिधि अर्जुन शाक्य लगायतले नेतृत्व तथा व्यक्तित्व विकासका विषयमा आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0