पोखरा, १२ भाद्र । पोखराका पर्यटन व्यवसायीहरूलाई ‘द फायर ग्याङ’ (THE FIRE GANG) को नामबाट डर-धम्की देखाइ रकम असुली गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

विगत एक महिनादेखि पोखराको पृथ्वीचोक, लेकसाइड लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका व्यक्तिहरूलाई ह्वाट्सएप (WhatsApp) मार्फत अपहरण, दुर्घटना तथा जनधनको क्षति पुर्‍याउने धम्की दिँदै त्रसित बनाएर रकम माग गर्ने कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले अनुसन्धानका आधारमा शुक्रबार (भाद्र १२ गते) रातको करिब १२:३० बजे (२४:३० बजे) पोखरा महानगरपालिका वडा नं. ६ डिगोपाटनबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा: १. धनकुटाको मारेक कटहरे गाउँपालिका-६ स्थायी घर भई हाल पोखरा-६, लेकसाइड बस्ने ३६ वर्षीय प्रेम थापा २. सुनसरीको इटहरी उपमहानगरपालिका-२५ स्थायी घर भई हाल पोखरा-६, लेकसाइड नै बस्ने २९ वर्षीय पंकज खड्का पक्राउ परेका हुन्र।

दुवै जनामाथि थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक प्रसाद रिजालले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0