
काठमाडौं, १२ भाद्र । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ (एनडीसीसीआई) ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सार्थक सहयोग पुर्याउन सम्पूर्ण निजी क्षेत्रलाई आह्वान गरेको छ।
संघका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालको रसुवागढी र चीनतर्फको केरुङ सीमाक्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ।
प्राकृतिक प्रकोपका कारण स्थानीय नागरिक, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यटक, तीर्थयात्री तथा व्यवसायी बेपत्ता भएको, घाइते भएको र धेरै भौतिक संरचनामा क्षति पुगेको जनाउँदै संघले यस असामान्य परिस्थितिमा नेपाल सरकार तथा सबै प्रबुद्ध वर्गसँग सहकार्य गर्न आग्रह गरेको छ।

संघले प्राकृतिक विपत्तिको यस अकल्पनीय परिस्थितिमा व्यावसायिक क्षेत्रलाई सेवाभावलाई प्राथमिकतामा राखी स्वच्छ व्यावसायिक गतिविधि अवलम्बन गर्नसमेत विशेष अनुरोध गरेको छ।
यसैगरी, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकको निर्णयअनुसार उद्धार र राहतका लागि आर्थिक सहयोग जुटाउन संघले आफ्ना केन्द्रदेखि जिल्ला तहसम्म आबद्ध व्यवसायी तथा सम्पूर्ण निजी क्षेत्रलाई अपिल गरेको छ।
सहयोग गर्न चाहने दाताहरूले नेपाल बैंक लिमिटेडमा रहेको ‘नेपाली कांग्रेस विपद व्यवस्थापन कोष’ को खाता नम्बर १३५००१००१५६९७२०००००१ मा रकम जम्मा गर्न सक्नेछन्।
रकम जम्मा गरेको बैंक भौचरको कपी नेपाली कांग्रेस सभापति वा केन्द्रीय कार्यालयमा उपलब्ध गराउनसमेत विज्ञप्तिमा भनिएको छ।
संघले बाढीपहिरोमा परी ज्यान गुमाउने सम्पूर्ण सर्वसाधारण, कर्मचारी, सुरक्षाकर्मी तथा व्यवसायीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी समवेदना प्रकट गरेको छ। साथै, सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

























