काठमाडौं, ७ भदाै । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ ।

उहाँले दशकौँपछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्दै आएको स्पष्ट पार्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)सँग कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले लामो इतिहास बोकेको प्रहरी सङ्गठनले त्यस्ता घटनालाई नबिर्सने बताउनुभयो ।

“व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन् । तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो । यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न”, उहाँले भन्नुभयो । यद्यपि, त्यस्ता मुद्दामा चाहेजस्तो सफलता प्राप्त नभइरहेको महानिरीक्षक कार्कीको स्वीकारोक्ति थियो ।

“ती पुराना घटनाको अध्ययन र निरन्तरको अनुसन्धानबाट घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने कार्य प्रहरी सङ्गठनले गर्दै आएको छ”, उहाँले भन्नुभयो । पुराना चर्चित घटनालाई विशेष टोली गठन गरेर अनुसन्धान गरिरहेको जानकारी दिँदै उहाँले त्यसबाट केही-केही घटनामा राम्रो सफलता मिलेको सुनाउनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले केन्द्रीय अनुसन्धान व्यूरोमार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान चलिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ ।”

विश्वव्यापीरूपमा बदलिँदो समाज, प्रविधि र कार्यशैलीले सुरक्षा चुनौती थपिरहेको विश्लेषण गर्दै महानिरीक्षक कार्कीले परम्परागत अनुसन्धान पद्धतिले मात्र आधुनिकताको सम्बोधन गर्न नसक्ने बताउनुभयो । “प्रहरी कर्मचारीलाई स्वचालित र उत्प्रेरित गर्न पछिल्लो समय कार्यसम्पादन सूचक तयार गरेका छौँ”, उहाँले भन्नुभयो, “यो पूर्वानुमानयोग्य छ । कामका आधारमा मूल्याङ्कन हुन्छ, जसले व्यक्तिलाई सुधार्ने मौका पाउँछ ।”

महानिरीक्षक कार्कीले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको उल्लेख गर्दै त्यसबाट नागरिकलाई प्रहरी कार्यालयसम्म पुग्नु नपर्ने अवस्था सुनिश्चित गरेको बताउनुभयो । “उहाँहरू घरबाटै पनि आफ्ना आवेदन तथा निवेदन दिन र त्यसबारे बुझ्न सहज हुने गरी प्रणालीको विकास गरिएको छ”, उहाँले भन्नुभयो, “नेपाल पुलिस एपमार्फत धेरै सेवा लिन सकिने छ ।”

पछिल्लो समय प्रविधिजन्य र आर्थिक अपराधका घटना वृद्धि हुँदै गइरहेको जनाउँदै उहाँले ती घटनाका अनुसन्धान गर्न सोहीअनुसार जनशक्ति भर्ना र परिचालनको आवश्यकता महसुस गरिएको बताउनुभयो । उहाँले विशिष्टीकृत अनुसन्धान इकाई गठन गरिएको पनि जानकारी दिनुभयो ।

महानिरीक्षक कार्कीले अपराधको विश्वव्यापी सञ्जाललाई निस्तेज पार्न विभिन्न देशका प्रहरी सङ्गठन र इन्टरपोलको माध्यमबाट अन्य मुलुकका विशिष्टीकृत, विकसित र लोकप्रिय अनुसन्धानमूलक इकाइसँग आवश्यक समन्वय गरिएको जनाउनुभयो ।

“नेपाल प्रहरीले आधुनिक ‘पुलिसिङ ’का स्ट्यान्डर्डलाई अवलम्बन गर्दै अन्य मुलुकका विशिष्ट प्रहरी सङ्गठनका सदस्यसँग समन्वय गरिरहेको छ”, महानिरीक्षक कार्कीले भन्नुभयो । उहाँले प्रविधिको प्रयोगबाट भएका आपराधिक क्रियाकलाप रोक्न प्रहरी सङ्गठन सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल प्रहरी आमनागरिकको सबैभन्दा नजिक रहेर राज्यको प्रतिनिधित्व गर्ने सङ्गठन भएको उल्लेख गर्दै महानिरीक्षक कार्कीले समाजमा शान्ति, सुव्यवस्था र अमनयन कायम गरी नागरिकका जीउधनको रक्षाका लागि सबै तह र तप्काको सहयोगको अपेक्षा गर्नुभयो । “प्रहरीलाई प्राप्त जिम्मेवारीमा सफलता हासिल गर्न आमनागरिकको सहयोगको अपेक्षा सदैव छ”, उहाँले भन्नुभयो, “आपराधिक प्रवृत्ति भएका मान्छेका बारेमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्दछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0