
दुबई, ८ असार । कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी भइरहेका बेला आइतबार राति भएको शक्तिशाली विस्फोट र आगलागीमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता रहेका छन् ।
घटनाले विश्व ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको छ, विश्वका प्रमुख प्राकृतिक ग्यास उत्पादक राष्ट्रहरूमध्ये एक कतारको उत्पादन र आपूर्ति प्रणाली प्रभावित भएपछि यसको असर अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत पर्न सक्ने देखिएको छ । रस लाफान औद्योगिक क्षेत्रमा अवस्थित ग्यास सुविधामा युद्धका कारण रोकिएको उत्पादन पुनः सञ्चालन गर्ने काम भइरहेका बेला विस्फोट भएको हो ।
युद्धका क्रममा इरानको आक्रमणपछि प्रभावित बनेको उक्त क्षेत्रमा कामदारहरू मर्मत तथा पुनःसञ्चालनको काममा जुटिरहेका थिए । कतार एनर्जीका अनुसार बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटपछि आगलागी फैलिएको थियो ।
प्रारम्भिक विवरणमा केही व्यक्तिमात्र घाइते भएको जनाइएको भए पनि केही घण्टापछि कतारको गृह मन्त्रालयले घाइतेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको पुष्टि गरेको छ । बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























