
धरान (सुनसरी), २४ जेठ। सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । एक समय बाँझै रहने बारी अहिले हराभरा तरकारीबारीमा परिणत भएका छन् भने किसान आफ्नै गाउँमा बसेर मनग्य आम्दानी गर्दै आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् ।
बिहान घाम नउदाउँदै किसान काँक्रो, गोलभेँडा, बोडी, घिरौँला, कोभीलगायत तरकारी टिप्न बारीमा पुगिसकेका हुन्छन् । उत्पादन भएका तरकारी धरान, इटहरी, इनरुवा, बराहक्षेत्र तथा आसपासका बजारमा बिक्री हुने गरेको छ । बराहक्षेत्र नगरपालिका–७ का दिनेश राजवंशी विगत ६ वर्षदेखि करिब दुई बिघा जमिनमा व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । तीन वर्ष विदेश बसेर फर्किनुभएका उहाँले अहिले आफ्नै गाउँमा बसेर तरकारीखेतीबाट पर्याप्त आम्दानी गरिरहनुभएको छ ।
“विदेशमा निकै दुःख गरेर कमाएको पैसाले घरखर्च धान्नै कठिन हुन्थ्यो, अहिले परिवार सबै मिलेर साथमा तरकारीखेती गरिरहेका छौँ । मिहिनेत गर्न सके आफ्नै देशको माटोमा पनि राम्रो आम्दानी गर्न सकिँदोरहेछ”, उहाँले भन्नुभयो । तरकारी बिक्रीबाट घरखर्च सहज रूपमा चलिरहेको छ भने मासिक रु ७० हजारभन्दा बढी बचत गर्न सफल भएको राजवंशी बताउनुुहुन्छ । सोही ठाउँका नितु राजवंशी र रमेश राजवंशी दम्पतीले तीन बिघा जमिनमा व्यावसायिक तरकारीखेती गरिरहनुभएको छ ।
उहाँहरूले काँक्रो, बोडी, घिरौँला, कोभी, गोलभेँडालगायत मौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ । नितु राजवंशीका अनुसार विगतमा मकै र कोदोखेतीबाट परिवारको खाद्यान्न आवश्यकता मात्र पूरा हुन्थ्यो । तरकारीखेती सुरु गरेपछि भने यहाँबाट राम्रै आम्दानी हुने गरेको उहाँले बताउनुभयो । “पहिले बारी बाँझो थियो, अहिले तरकारीखेतीले धेरै राम्रो भएको छ । मौसमले साथ दिएमा र सिँचाइ तथा मल व्यवस्थापन राम्रो भए वार्षिक रु सात लाखदेखि रु आठ लाखसम्मको तरकारी मज्जाले बिक्री गर्न सकिन्छ”, राजवंशी दम्पती भन्छन् । त्यसैगरी, बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका युक्ति चौधरीले चार बिघा जमिनमा मौसमी तरकारीखेती गर्दै आउनुभएको छ ।
छ वर्षअघि एक कट्ठा जमिनबाट सुरु गरिएको खेती अहिले विस्तार भएर वार्षिक रु १० लाखभन्दा बढी आम्दानीको स्रोत बनेको छ । ‘रीतिका कृषि फार्म’ सञ्चालन गर्दै आउनुभएका चौधरीले परिवारको साथ र निरन्तर मिहिनेतले व्यवसाय विस्तार गर्न सफल भएको बताउनुभयो । “काम गर्न सकुन्जेल खेतीलाई निरन्तरता दिन्छु । परिवारको साथ छ, मिहिनेत गर्नसके कृषि क्षेत्रमै राम्रो सम्भावना रहेछ”, उहाँले भन्नुभयो । चौधरीले पालेका गाईगोरु र बाख्राबाट प्राप्त गोबरलाई जैविक मलका रूपमा प्रयोग गर्दै आउनुभएको छ । यसले उत्पादनलाई स्वस्थ र गुणस्तरीय बनाउन मद्दत पुगेको उहाँको भनाइ छ । तरकारी बिक्रीका लागि बजारको समस्या छैन ।
व्यापारीहरू आफैँ फार्ममा पुगेर तरकारी खरिद गरेर लाने गरेको उहाँले बताउनुभयो । “हामी बजार मूल्यभन्दा प्रतिकिलो करिब रु १० कममा तरकारी दिन्छौँ, व्यापारीहरू फार्ममै आउने भएकाले बजारको झन्झट हुँदैन”, उहाँले भन्नुभयो । सुनसरी कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले बराहक्षेत्रसहित जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा तरकारीखेती प्रवर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । उहाँका अनुसार केन्द्रले किसानलाई अनुदान, उन्नत बीउ, सिँचाइ उपकरण, माटो परीक्षण, मल तथा विषादी व्यवस्थापनसम्बन्धी तालिमलगायत प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
आधुनिक तरकारीखेतीले धेरै किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको छ । उहाँले भन्नुभयो, “उत्पादन वृद्धि, बजार पहुँच र आम्दानी विस्तारमा सकारात्मक प्रभाव देखिएको छ ।” श्रेष्ठका अनुसार तरकारी भण्डारण, कीट प्रकोप, बजार व्यवस्थापन तथा मौसमजन्य समस्याको समाधानका लागि कृषि ज्ञान केन्द्रले निरन्तर परामर्श सेवा प्रदान गर्दै आएको छ । बराहक्षेत्रका किसानले उत्पादन गरेका तरकारी धरान कृषि उपज बजार, इटहरी, इनरुवा, बराहक्षेत्र तथा काराबन्जरलगायतका स्थानीय बजारमा बिक्री हुने गरेका छन् । किसानका अनुसार बिक्रीका लागि बजारको अभाव छैन । सरकारी अनुदान, विभिन्न सङ्घसंस्थाको सहयोग तथा डिजिटल मार्केटिङको बढ्दो प्रयोगले व्यावसायिक तरकारीखेतीलाई थप सहज बनाएको छ ।
तरकारीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि बराहक्षेत्रका किसान विदेश पलायनभन्दा आफ्नै गाउँघरमा श्रम र सीप लगानी गर्न उत्साहित देखिएका छन् । यसले ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्नुका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत टेवा पुर्याएको छ । अहिले बराहक्षेत्र नगरपालिकामा अधिकांश किसान बारीमा तरकारी उत्पादन गर्दै, स्थानीय हाटबजारमै बिक्री गरी राम्रो आम्दानी गरिरहेको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो । नगरपालिकाले बर्सेनि किसानलाई प्राविधिक तालिम, उन्नत बीउबिजन, मल, सिँचाइ सुविधा, प्लास्टिक टनेल निर्माणका लागि अनुदान र बजार व्यवस्थापनमा सहजीकरण गर्दै आएको उहाँले जानकारी दिनुभयो । अहिले गाउँमै रोजगारी सृजना हुने क्रम बढिरहेको छ । वैदेशिक रोजगारीमा गएका युवाहरू पनि कृषि पेसामै फर्कन थालेका छन् ।
स्वदेशमै बसेर आफ्नै माटोमै पसिना बगाएर राम्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना अहिले गाउँगाउँमा फैलिएको छ । अनियमित वर्षा, अत्यधिक गर्मी, असिना वर्षालगायत कारणले बाली नष्ट हुने, रोगकीरा बढ्ने र समग्र उत्पादन घट्नेजस्ता समस्याका कारण कहिलेकाहीँ किसान निरास हुनुपरेको छ । तर मौसम अनुकूल बालीको छनोट, प्लास्टिक टनेल, ड्रिप सिँचाइ प्रणालीलगायत प्रविधिको प्रयोग बढाउन सक्दा तरकारीखेतीबाट किसानले राम्रो आम्दानी गर्न सक्ने नगरप्रमुख कार्कीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























