
काठमाडौं, २८ असार। देशभर मनसुन वायुको प्रभाव रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेको छ । यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली भएको छ ।
अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका अधिकांश स्थानमा बदली रहनेछ । हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ ।
मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान र लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली हुनेछ भने कर्णाली र सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेग तथा मधेससहित ती प्रदेशका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । ती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा अति भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाले आइतबार र सोमबार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा मधेससहित ती प्रदेशका तराईका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले गेगरान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने जनाएको छ ।
प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र महाशाखाबाट जारी हुने मौसमसम्बन्धी सूचना नियमित रूपमा लिन आग्रह गरिएको छ ।























