
तेहरान, ११ चैत। अमेरिका र इरानबीच सम्भावित वार्ताका सङ्केतहरू देखिइरहेका बेला इरानले बुधबार इजरायल तथा खाडी क्षेत्रका लक्ष्यहरूतर्फ नयाँ मिसाइल आक्रमण गरेको छ । यो आक्रमणले कूटनीतिक पहलसँगै सैन्य तनाव पनि समानान्तर रूपमा जारी रहेको स्पष्ट पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग संवाद अघि बढिरहेको सङ्केत दिनुभएको छ ।
उहाँले वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिका अहिले इरानसँग ‘वार्तामा रहेको’ उल्लेख गर्नुभयो । यद्यपि इरानी पक्षले औपचारिक रूपमा त्यस्तो कुनै वार्ताको पुष्टि गरेको छैन । ट्रम्पले इरानले हालै चालेको कदमलाई सकारात्मक सङ्केतका रूपमा व्याख्या गर्दै ‘उनीहरूले हामीलाई ठूलो मूल्यको उपहार दिएका छन्’ भन्नुभयो । उहाँले यसबारे थप खुलाउनुभएन, तर उक्त अभिव्यक्ति स्ट्रेट अफ होर्मुजसँग सम्बन्धित रहेको सङ्केत गर्नुभयो ।
विश्वको झण्डै पाँचौँ भाग कच्चा तेल ओसारपसार हुने स्ट्रेट अफ होर्मुज हालै इरानले अमेरिका र इजरायलका आक्रमणको प्रतिक्रियास्वरूप अवरुद्ध गरेको थियो । तर अहिले तेहरानले अन्तर्राष्ट्रिय समुद्री सङ्गठनमार्फत सन्देश जारी गर्दै ‘गैर–शत्रुतापूर्ण जहाजहरू’ लाई सुरक्षित मार्ग दिने जनाएको छ । यस कदमले विश्व बजारमा केही सहजता ल्याएको छ र कच्चा तेलको मूल्य छ प्रतिशतभन्दा बढीले घटेको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























