
पोखरा, २६ पुस । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी) मा आज फुड फेष्ट २०२६ आयोजना गरियाे। कलेजको २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६ आयोजना गरिएको हो ।
फुड फेष्टको प्रमुख अतिथि पोखरा विश्व विद्यालयका स्वास्थ्य विज्ञान संकायका डिन प्रोफेसर डा.विष्णुराज तिवारी, कलेजका अध्यक्ष अशोक पालिखे, प्रिन्सिपल प्रकाश रेग्मीले बेलुन उडाएर शुभारम्भ गरे ।
कार्यक्रममा सहभागि पाहुनाहरुलाई स्वागत गर्दै कलेजका अध्यक्ष अशोक पालिखेले सानो क्षेत्रबाट सुरु गरेको कलेज २७ वर्षसम्म आउँदा २७ रोपनी जग्गामा फैलिएको बताए । हामी कम्पनीको रुपमा रहेको भएपनि सेवाका हिसाबले समुदायस्तरमा रहेका छौं ।
उनले भने, देश विदेशमा रहेका ११२ जना दाजुभाई दिदिबहिनीहरुले पोखरालाई शिक्षा, पर्यटनको हबको रुपमा विकास गर्नुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै स्थापना गरिएको सुनाए । हाम्रा विद्यार्थीहरु पोखरा, काठमाडौं अनि विदेशमा पाँच तारे होटलका उच्च पदमा रहेर काम गरिरहेकोमा गर्व लाग्ने गरेकाे बताए । गुणस्तरमा हामी कुनै प्रकारको सम्झौता गर्दैनौ । त्यसैले पनि हामीले हाम्रो ल्यावलाई फाईवस्टार लेवलको बनाएका छौं । उनले भने, भविष्यमा कलेजलाई आउट स्ट्याण्डिङ बनाउने लक्ष्य रहेको छ ।
कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले कलेजका गतिविधिका बारेमा प्रकाश पार्दै पढाईका साथमा व्यवहारिक ज्ञान र अतिरीक्त क्रियाकलापहरुलाई संगसंगै अघि बढाईरहेको बताए । विद्यार्थी, शिक्षकहरुका लागि तालिम, उत्प्रेरणा जगाउने र कुनैपनि कार्यक्रमको उचित व्यवस्थापनका सिपहरु सिकाईरहेको बताए । उनले भने, यो फेष्ट २५ औं व्याचले आयोजना गरेको हाे हामीले समन्वय मात्रै गरेका हौं । सबै विद्यार्थीले नै व्यवस्थापन मिलाएका हुन्।
कलेजमा प्लस टु होटल म्यानेजमेन्ट बीएचएम, बीबीए, बीबीए फाईनान्सको पढाई भइरहेको छ । गएको वर्षदेखि इएमबीएको पढाई गैह्रापाटनस्थित ब्लक बी मा चलिरहेकाे बताए । यो कोर्ष कुनैपनि विषयमा व्याचलर गरेको दुई वर्ष पूरा भएका, अध्ययनको समय नपाएका, दिउँसोमा काम गर्नेहरुका लागि उपयुक्त छ । प्रिन्सिपल रेग्मीले भने, साँझको समयमा पढाई हुने भएकोले यसबाट लाभ लिनुहाेस्। उनले आफ्ना विद्यार्थीहरु अहिले विश्वका ४७ वटा देशमा उच्च तहमा रहेर काम गरिरहेको बताए । अब छिट्टै व्यावसायीक उत्कृष्टताका लागि तालिमको आयोजना गर्न लागिएको पनि सो अवसरमा जानकारी दिए ।
प्रमुख अतिथि तिवारीले एनटिएचएमसी र पोखरा विश्व विद्यालयबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताए । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेजको २७ वर्षिय यात्रा उत्कृष्टता हासिल गर्ने बाटोमा लागिरहेकोमा खुसि व्यक्त गरे । हामीलाई पनि गर्व लाग्छ । व्यवस्थापन, अध्ययन र उत्पादित विद्यार्थीहरुले देश विदेशमा राम्रो काम गरिरहेका छन् ।
अध्ययनको साथसाथै सिप विकासको क्षेत्र पनि भएकोले व्यावसायीक क्षेत्रको सहभागिता र समन्वय आवश्यक भएको बताए । उनले भने, अब पर्यटनमा स्वस्थतालाई जोडेर लैजानु पर्छ । खाना मुखको मीठोका लागि मात्रै नभई शरिरका सम्पूर्ण इन्द्रियहरुले महशुस गर्ने हुनुपर्छ । उनले अबको शिक्षा उत्पादनमूलक, उत्पादनलाई बेच्न सक्ने र देशको अर्थतन्त्रलाई टेवा पुग्ने खालको हुनुपर्नेमा जोड दिए ।
परिक्षा नियन्त्रक राजु पाण्डेले एनटिएचएमसी पोखरा विश्व विद्यालयको जेठो सन्तानको रुपमा रहेको बताए । हामी कलेजका गतिविधिबाट खुसि छौं । उनले भने, तपाँईहरु अगाडी बढिरहनुस् हामी हातेमालो गरिरहन्छौं ।
पोखरा वडा नं १४ का अध्यक्ष बोधराज कार्कीले पर्यटकीय राजधानी पोखराको आफ्नै वडामा स्थापना भएको कलेजले आत्मनिर्भर हुने शिक्षामा ठूलो योगदान दिएको बताए ।
राष्ट्रिय परिक्षा बोर्ड गण्डकीका प्रमुख भाष्करदत्त पन्तले अबको शिक्षा ज्ञान आर्जनसंगै सिपमूलक भएन भने काम नलाग्ने बताए । बजारको आवश्यक्ता अनुसार चल्नुपर्ने बताउँदै उनले एनटिएचएमसीको प्रगति आफुले अवलोकन गरेको फिनल्याण्डको जस्तो देख्दा गर्वको अनुभूति भएको बताए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले नेपालमा पर्यटकहरु घुम्न नै आउने भएकोले घुम्ने स्थानहरुको बसाई बाटोको सुविधाका कारण छोटिएको बताए । उहिले अनुसरण गरेर पर्यटनमा लागियो । उनले भने अहिले पढेर पर्यटनमा लाग्ने संख्या बढेको छ । जसले गर्दा पर्यटन क्षेत्रकाे सेवा अँझ गुणस्तरिय भएको छ ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा गुणस्तरिय शिक्षा लिईरहेका विद्यार्थीहरु कोहि पनि बेरोजगार नभएको बरु उनीहरु कतिपय रोजगारदाता भएको थाहा पाउँदा खुसि लागेको बताए ।
हरेक वर्ष विद्यार्थीद्वारा मेगा इभेन्टका रुपमा फुड फेष्टिवल गरिदै आइएको छ । यो एउटा ब्राण्डिङ भइसकेको प्रोडक्ट पनि हो ।
फुड फेष्टिवलमा विभिन्न प्रकारका खाना र पेय पदार्थ, भेगन (प्लान्ट बेस फुड) लगायतका खाना पस्किएकाे थियाे । सो अवसरमा बार टेण्डरिङ फेलरिङ पनि समावेस गरिएको थियो ।
फेष्टिवललाई सांस्कृतिक तथा संगीतमय बनाईएको थियो । कलेजका विद्यार्थीका व्याण्डका प्रस्तुति तथा नृत्य देर्खाइएको थियो भने काठमाडाबाटैं चर्चित कलाकार समिर श्रेष्ठ, केहरसिंह लिम्बु लगायतले गीत गाएर माहोल तताएका थिए । फुड फेष्टकाे संयोजन विवेक महतले गरेका थिए ।

























