
राँझा (बाँके), २५ पुस। बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ । नयाँ वर्षको रूपमा लिइने माघीले थारू बस्तीमा रौनक बढाएको छ । थारू गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको बाँके राप्ती सोनारी गाउँपालिका–३ बैजापुर निवासी थारू अगुवा तुलसीराम थारूले बताउनुभयो ।
“माघीका अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाच थारू गाउँमा सुरु भएका छन्”, थारूले भन्नुभयो, “गाउँगाउँमा नाचसँगै माघीको चहलपहल सुरु भएको छ । माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणासमेत उठाउने चलन छ ।” थारू समुदायमा माघीलाई विशेष महत्वका साथ हेरिन्छ । माघीदेखि नै समुदायमा नयाँ कामको र नयाँ व्यवस्था लागू हुने भएकाले यसलाई विशेष रूपमा हेरिने गरेको बाँके बैजनाथका थारू अगुवा चन्द्रबहादुर चौधरीले बताउनुभयो ।
माघीलाई थारू समुदायमा आआफ्नै तरिकाले मनाउने तर नीति व्यवस्था र गाउँ सञ्चालन प्रक्रिया भने एक वर्षलाई एउटै प्रकृतिको हुने हुँदा यसले रोचकता बढाएको चौधरीले बताउनुभयो । “माघी आएसँगै थारूगाउँमा माघीको रौनक र चहलपहल छुट्टै बढेको छ”, थारू अगुवा चौधरीले भन्नुभयो, “नयाँ पुस्तामा संस्कृतिको संरक्षण र परिस्कृत गर्ने सोच पनि पलाएको छ ।”
माघी थारू समुदायको चाडमात्र नभएर यस अवसरमा नयाँ रीतिथिति, नयाँ अगुवा (मतहवा, भल्मन्सा, मतहवा, बरघर) चुन्ने र नीतिनियम निर्माण गर्ने पर्वका रूपमा रहेको चौधरीको भनाइ छ । पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारू समुदायको बाक्लो बस्ती रहेकाले पनि माघीको यी जिल्लाहरूमा अझ विशेष महत्वकासाथ मनाउने परम्परा छ ।
गाउँको अगुवा कन्दारदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन घर सल्लाहलगायत विषयमा छलफल हुने भएकाले यसलाई नयाँ आर्थिक वर्षका रूपमा पनि थारू समुदायले लिने गरेको राप्ती सोनारी–३ का जननिर्वाचित वडाध्यक्ष मीनकुमार थारूले बताउनुभयो ।























