
पोखरा, २१ मङ्सिर। तमु धिं नेपालले राष्ट्रिय पर्व तमु ल्होछार त ल्हो (घोडा वर्ग) आगमनको अवसरमा पहिलो पटक पोखराको पुरानो टुँडिखेलमा यस वर्षबाट ल्होछारलाई महोत्सवको रुपमा मनाउने जानकारी गराएको छ ।
यसवर्ष सप्री ल्हो (सर्प वर्ग)को बिदाई र त ल्हो (घोडा वर्ग)को आगमन हुँदैछ । तमुहरुले पुस १५ गते ल्होछारलाई धुमधामकासाथ गाउँघरमा मनाउने चलनलाई निरन्तरता दिदैं आएका छन् ।
तमु समुदायको राजधानी पोखरामा यसवर्ष देखि पुस १४, १५ र १६ गते विभिन्न कार्यक्रमका साथ टुँडिखेलमा महोत्सवको रुपमा मनाउन लागेको तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले पत्रकार सम्मेलनमा जानकारी दिए ।
ल्होछार महोत्सवमा परम्परागत मौलिक सांस्कृतिक कार्यक्रम हुनेछन् । खेलकुदका कार्यक्रमहरु पनि समावेस गरिएको उनले बताए । गुरुङका अनुसार महोत्सवका कार्यक्रमहरुले राष्ट्रियता सुधार, सद्भाव, र एकतालाई बलियो बनाउने, पर्यटनको प्रवर्धन हुने र व्यावसायीक क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भलिवलमा प्रथम हुने टीमले रुपैयाँ १ लाख ५० हजार पुरस्कार पाउने
महोत्सवका आकवर्षणहरुमा भलिबल प्रतियोगिता, खुल्ला छेलो प्रतियोगिता र मौलिक सांस्कृतिक प्रस्तुति रहेका छन् । यस्तै झाँकि प्रतियोगिता, गुरुङ भेषभुषा प्रतियोगिता, सामुहिक खुल्ला लोकनृत्य प्रतियोगिता हुने भएका छन्।
झाँकि प्रतियोगितामा प्रथम हुनेले रुपैयाँ ६० हजार, भेषभुषामा प्रथम हुनेले रुपैयाँ ५ हजार, लोक नृत्यमा प्रथम हुनेले रुपैयाँ ७५ हजार, छेलोमा प्रथम हुनेले रुपैयाँ ४० हजार र भलिवलमा प्रथम हुने टीमले रुपैयाँ १ लाख ५० हजार पुरस्कार पाउनेछन् ।
महोत्सवकाे पहिलो दिन पुस १४ गते बिहान साढे ११ बजे नदीपुर प्रहरीचौकी अगाडीबाट र्याली आयोजना गरिने भएको छ ।
महोत्सवलाई सम्पन्न गर्न अध्यक्ष हुम बहादुर तमुको संयोजकत्वमा २०१ सदस्यीय तमु ल्होछार महोत्सव मूल आयोजक कमिटि र २६ वटा उपसमिति बनाएर तयारीका कामहरु भईरहेको अध्यक्ष गुरुङले जानकारी दिए ।
उनका अनुसार महोत्सव सम्पन्न गर्नका लागि ३७ लाख १० हजार रुपैयाँ खर्च हुुने र ४१ लख ५० हजार रुपैयाँ संकलन हुने आकलन गरिएको छ । महोत्सवको ३० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।























