
टोकियो, १३ जेठ । जापान सरकारले साना तथा मध्यम व्यवसायहरूलाई अमेरिकाबाट लगाइएको आयात करको असरबाट जोगाउन १५ अर्ब ५० करोड डलरभन्दा बढी बराबरको राहत कार्यक्रम सार्वजनिक गरेको छ ।
अमेरिकाले जापानसहित धेरै देशका सामानहरूमा १० प्रतिशतको आधारभूत आयात कर तथा सवारीसाधन, फलाम र एल्युमिनियममा अझै बढी दरको कर लगाएको छ, जसको प्रत्यक्ष असर जापानी व्यवसायहरूमा परेको छ ।
सरकारले साना व्यवसायहरूलाई सहज ऋण, ऋण सर्तहरूमा सहुलियत तथा सरकारी ऋण संस्थामार्फत आर्थिक सहायता प्रदान गर्ने जनाएको छ ।
मन्त्रिपरिषद्का मुख्यसचिव योशिमासा हायाशीले भन्नुभयो,“अमेरिकी करबाट प्रभावित साना तथा मध्यम व्यवसायहरूलाई पूर्ण समर्थन दिइनेछ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालु वर्षको मार्च महिनामा जापानका सामानहरूमा २४ प्रतिशत बराबरको ‘प्रतिशोधात्मक’ कर घोषणा गर्नुभएका थिए, तर त्यो निर्णय जुलाईको सुरुसम्मका लागि रोकिएको छ ।


























