
पोखरा ११ मंसिर । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराले पोखरा १६ मा रहेको झलकमान गन्धर्व सारङ्गी पाठशालालाई सहयोग गरेको छ ।
रेडियोले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भमा १२ महिना १२ कार्यक्रम अन्तर्गत पाठशालामा रहेका विद्यार्थीको लागि राष्ट्रिय पोशाक सहयोग गरेको स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले बताए ।
विद्यार्थीहरूको राष्ट्रिय पोशाक बिहिबार रेडियोका प्रबन्धक निर्देशक सुनयना पालिखेले पाठशालाका सञ्चालक दिलिप गायकलाई हस्तान्तरण गरेकी हुन् । रेडियो २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर समाजमा काम गर्दै जाने बताइन् ।
हस्तान्तरण कार्यक्रममा रेडियोका समाचार प्रमुख आरजु बिष्ट ‘सल्यानी’, मार्केटिङ म्यानेजर नारायण पौडेल, समाचार संयोजक राजाराम पौडेल लगायतको सहभागिता रहेको थियो । पाठशालामा हाल १४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
राष्ट्रिय पोशाक ग्रहण गर्दै पाठशालाका सञ्चालक गायकले रेडियोले गरेको सहयोग आफूहरूका लागि निकै महत्वपूर्ण भएको बताए । विद्यार्थीहरूका लागि राष्ट्रिय पोशाक दौरा, सुरुवाल, कोट नहुँदा भाडामा खोज्नुपर्ने बाध्यता रहेकोमा अब त्यो बाध्यता अन्त्य हुने उनले खुलाए । रेडियोले सामाजिक उत्तरदायित्व अन्तरगत गरेका कार्य र संगीतक्षेत्रमा अगाडि बढ्नको लागि दिएकाे अवसर समेतको खुलेर प्रशंसा गरे ।
यस अगाडि रेडियोले पोखरा १४ मा रहेको वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग, बिभिन्न बहस मूलक कार्यक्रम, जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीमा स्टेसनरी सामाग्री, प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ लगायतका काम गरिसकेको छ । रजत वर्षको अवसरमा वर्षभरीमा कम्तिमा १२ वटा कार्यक्रम गर्ने लक्ष्य अनुसार रेडियोले कार्यक्रम गर्दै आइरहेको छ ।
रजत वर्षको अवसर पारेर रेडियोले यहीं मंसिर १८ गते महेन्द्रपुलमा रहेको फाल्चामा “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” कार्यक्रमको आयोजना गर्दै छ । कार्यक्रम तयारीकाे तीव्रता दिइएको कार्यक्रम संयोजक राजाराम पौडेलले बताए । कार्यक्रम साँझ ५ बजेबाट सुरु हुनेछ ।
यो कार्यक्रमलाई भव्य बनाउन विभिन्न उपसमिति निर्माण गरेर काममा तीव्रता दिइएको कार्यक्रम संयोजक पौडेलले खुलाए । प्रवेश नि:शुल्क हुने र कार्यक्रममा उपस्थित भएर सारङ्गीका धुन मार्फत झलकमान गन्धर्व र नारायण गोपाललाई स्मरण गर्न उनले सबैलाई आग्रह गरेका छन्।






















