
बेइजिङ, २८ असोज । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आउने चिनियाँ सामानमा थप १०० प्रतिशत कर लगाउने घोषणा गर्नुभएको केही दिनमै चीनले मङ्गलबार अमेरिकासँगको व्यापार युद्धमा ‘अन्त्यसम्म लड्न तयार’ रहेको कडा चेतावनी दिएको छ । राष्ट्रपति ट्रम्पको उक्त निर्णय गत हप्तामा बेइजिङले दुर्लभ पृथ्वी (खनिज) तत्वहरूको निर्यातमा नयाँ नियन्त्रण लगाउने निर्णयको प्रतिक्रियामा आएको हो ।
ती तत्वहरूमा अहिले चीनको विश्वव्यापी प्रभुत्व रहेको छ, जसले उच्च प्रविधि उद्योगमा ठूलो प्रभाव पार्ने बताइन्छ । ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमार्फत नोभेम्बर १ देखि ‘कुनै पनि र सबै महत्त्वपूर्ण सफ्टवेयर’ निर्यातमा पनि नियन्त्रण लागू गरिने घोषणा गर्नुभएको छ । यस पछिल्लो कदमले अन्तर्राष्ट्रिय बजारमा ठूलो हलचल ल्याएको छ र दक्षिण कोरियामा हुने भनिएको राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको सम्भावित बैठकमाथि समेत प्रश्न उठाएको छ ।
“भन्सार शुल्क युद्ध र व्यापार युद्धका विषयमा चीनको नीति अडिग छ । यदि तपाईं लड्न चाहनुहुन्छ भने, हामी अन्त्यसम्म लड्नेछौँ; तर यदि वार्ता गर्न चाहनुहुन्छ भने, हाम्रो ढोका सधैँ खुला रहनेछ”, चीनको वाणिज्य मन्त्रालयका एक अज्ञात प्रवक्ताले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भने, “संयुक्त राज्य अमेरिकाले नयाँ प्रतिबन्धात्मक कदम चाल्दै एकैसाथ वार्ता खोज्नु चीनसँग संलग्न हुने उचित तरिका होइन ।”
यसैबीच राष्ट्रपति ट्रम्पले आइतबारको अर्को पोस्टमा चीनलाई ‘मद्दत गर्ने इच्छा’ रहेको बताउँदै ‘सबै ठीक हुनेछ’ भनेर आफ्नो केही आक्रामक टिप्पणीहरू फिर्ता लिएको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























