
किएभ, ८ कात्तिक । अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनले स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको आरोप लगाउनुभएको छ । युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने उक्त सञ्जालको सेवामा आएको अवरोधलाई लिएर वासिङ्टन र किएभबीच तनाव बढिरहेका बेला मस्कको यो भनाइ आएको हो ।
मस्कले शनिबार सामाजिक सञ्जाल एक्समा लेख्दै युक्रेनी सेनाले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरी मानिसको ज्यान लिने उद्देश्यले ड्रोन आक्रमण गर्न प्रणालीको प्रयोग गरेको आरोप लगाउनुभयो । उहाँले उक्त कमजोरी गत हप्ता नै हटाइएको पनि दाबी गर्नुभयो । “स्टारलिङ्कका सर्तहरू सधैँ यसलाई नागरिक सञ्चार प्रणालीका रूपमा प्रयोग गर्ने उद्देश्यमा आधारित छन्, हत्या गर्ने माध्यमका रूपमा होइन ।
सर्त उल्लङ्घन भएमा सेवा बन्द गरिनेछ,” मस्कले अर्को पोस्टमा लेख्नुभएको छ । यद्यपि, मस्कले युक्रेनको रक्षाका लागि स्टारलिङ्क अझै पनि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार, तत्काल अवरुद्ध पार्न वा नष्ट गर्न कठिन भएकाले यो प्रणाली युक्रेनी सेनाका लागि निर्णायक छ । “स्टारलिङ्क बन्द भएमा युक्रेनको अग्रपंक्ति तत्कालै ढल्नेछ,” उहाँले भन्नुभयो । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता मस्कले युक्रेनप्रतिको आफ्नो धारणा पटक–पटक परिवर्तन गर्दै आउनुभएको छ ।
उहाँले स्टारलिङ्क सेवामा आउने अवरोधका लागि स्पेसएक्सभन्दा अमेरिकी सरकार जिम्मेवार रहेको दाबी पनि गर्दै आउनुभएको छ । रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको सामना गरिरहेको युक्रेनले सैन्य सञ्चार, निगरानी र अन्य सञ्चालनका लागि नागरिक प्रयोजनको स्टारलिङ्क तथा सैन्य प्रयोजनका लागि विकसित स्टारशिल्ड प्रणालीमा निर्भर रहँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





























