
विश्वप्रसिद्ध प्रविधि कम्पनी गुगलले भारतमा अभूतपूर्व लगानी योजना घोषणा गरेको छ । कम्पनीले आगामी पाँच वर्षभित्र १५ अर्ब अमेरिकी डलर बराबरको पूँजी लगानी गर्दै भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको विशाखापट्टनम सहरमा अमेरिका बाहिरको सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हब निर्माण गर्ने बताएको छ ।
गुगल क्लाउडका प्रमुख कार्यकारी अधिकारी थोमस कुरियनले नयाँदिल्लीमा आयोजित समारोहमा यस हबलाई ‘गिगावाट–स्केल एआई आधार’ का रूपमा विकास गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो गुगलले अमेरिका बाहिर गर्ने सबैभन्दा ठूलो एआई लगानी हो ।
हामीले आगामी पाँच वर्षमा १५ अर्ब डलरको पूँजी लगानी गर्दै यस्तो पूर्वाधार तयार गर्नेछौँ जसले भारतलाई एआई प्रविधिको विश्वव्यापी नक्सामा अग्रस्थानमा पुर्याउनेछ ।” कुरियनका अनुसार गुगलले निर्माण गर्न लागेको उक्त एआई केन्द्रलाई अन्ततः ‘धेरै गिगावाट क्षमतामा’ विस्तार गर्ने योजना छ । यस लगानीले भारतमा तीव्र रूपमा बढिरहेको डिजिटल बजार र एआई उपकरणहरूको मागलाई सम्बोधन गर्नेछ ।
हाल भारतमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ९० करोड नाघ्ने अनुमान गरिएको छ, जसले व्यवसाय र व्यक्तिगत दुवै तहमा प्रविधिको प्रयोगलाई नयाँ उचाइमा पुर्याएको छ । भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले गुगलको लगानीप्रति धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “यो डिजिटल पूर्वाधार हाम्रो ‘भारत एआई’ दृष्टिकोणका लक्ष्यहरू पूरा गर्नको दिशामा महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ । यसले भारतलाई एआई प्रविधिको उत्पादन र नवप्रवर्तन केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्याउनेछ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























