
पोखरा, २६ असाेज। आगामी वर्ष सन् २०२६ मा आयोजना हुने मुनाल भलिबल कपको पूर्वतयारीकाे रुपमा प्रचारात्मक मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भएकाे छ ।
विश्व कालिज संघ (WPA), Biocos नेपाल, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (ACAP), माछापुच्छ्रे गाउँपालिका र ग्रेट माछापुच्छ्रे ट्रेलको संयुक्त सहयोगमा कास्कीकाे माछापुच्छ्रे गाउँपालिका १ पिपरमा जैविक विविधता संरक्षण र पर्यावरणीय पर्यटन प्रवर्द्धन गर्नका लागि ‘मुनाल भलिबल कप’काे प्रचारात्मक मैत्रीपूर्ण भलिबल खेल आयाेजना गरिएकाे हाे ।
प्रतियोगिताकाे पहिलो खेलमा भुपु खेलाडी टीमले जनप्रतिनिधिलाई २५–१६, २५–१३ ले पराजित गर्याे । दोस्रो खेलमा कर्मचारीकाे टीमले भुपु खेलाडीलाई २५–२३ र २५–२३ ले हरायाे । तेस्रो खेलमा भुपु खेलाडी ए ले ए क्याप्सिएमसीलाई २५–२३, १९–२५ र १५–७ ले हरायाे । चौथो खेलमा कर्मचारीले शिक्षकलाई २५–२३ र २५–१५ को पराजित गर्याे। फाइनल प्रतिष्पर्धामा कर्मचारीले भुपु खेलाडीलाई २५–१० र २५–२० ले पाखा लगाउदै उपाधि हात पार्याे ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले खेलकुदकाे माध्यमबाट वातावरण, पर्यटन र चराहरु, वन्यजन्तुकाे संक्षणलाई अभियानकै रुपमा लैजाने योजना भएकाे जानकारी दिए । उनले पिपर फेजेन्ट कन्जर्भेशन क्षेत्रकाे प्रवर्धनकाे खाँचाे रहेकाे बताए ।
उपाध्यक्ष सीता अधिकारीले पर्यटकीय क्षेत्रमा गरिने यस्ता कार्यक्रमले वातावरण संरक्षण र पर्यापर्यटनकाे प्रवर्द्धनकाे लागि महत्वपूर्ण रहेकाे बताईन् ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. १ का अध्यक्ष इन्द्र गुरुङले सन् १९७२ देखि पिपर क्षेत्रमा विभिन्न चराचुरुङ्गी र कालिजका प्रजातिको अध्ययन भइरहेकाे बताए । जहाँ हिमालयन फेजेन्टका छवटा प्रजातिहरू पाइने गरेकाछन्।
साे अवसरमा Biocos नेपालका अध्यक्ष लक्ष्मणप्रसाद पौडेलले खेलकुद लगायतका कार्यक्रमबाट संरक्षणका बारेमा सचेतना जगाउन सहयाेग पुग्ने बताए ।
Biocos नेपालका निर्देशक पारस विक्रम सिंहले खेलकुदलाई माध्यम बनाइएकाे कार्यक्रमले जनस्तरमा जैविक विविधताका बारेमा चासाे बढाउन प्रेरित गरेकाे बताए ।
मुनाल भलिबल कप–२०२६
आयाेजकका अनुसार मुनाल भलिबल कप–२०२६ अन्तर–वडा स्तरिय हुनेछ । विजेताले रु तीन लाख, उपविजेताले रु दुई लाख र तृतीय हुनेले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
पिपर फेजेन्ट कन्जर्भेशन ल्याण्डस्केप माछापुच्छ्रे गाउँपालिकाको जैविक सम्पदाको केन्द्रबिन्दुकाे रुपमा रहेकाे छ । साे क्षेत्रमा डाँफे, मुनाल, भालु, कस्तुरी, मृग, चितुवा लगायतका वन्जयजन्तु पाइने भएकाेले संरक्षण र प्रवर्धनकाे लागि महत्वपूर्ण क्षेत्रकाे रुपमा रहेकाे छ ।






























