
पोखरा, २० असोज। बाढीपहिरो र सडक अवरुद्ध हुँदा पोखरामा अलपत्र परेका पर्यटकलाई व्यवसायीले निःशुल्क खाना र बस्ने सुविधा उपलब्ध गराउने भएका छन् ।
होटल सङ्घ पोखराले पोखरा र वरपरका क्षेत्रमा समस्यामा परेका पर्यटकका लागि निःशुल्क खाना र बस्ने सुविधा उपलब्ध गराउने घोषणा गरेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। उनले विपत्तिमा केही पर्यटक अलपत्र परेको भन्ने खबर पाएसँगै तत्काल राहत उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको बताए।
“असहज परिस्थितिमा सामाजिक उत्तरदायित्व बहन गर्दै होटल सङ्घले यस्तो निर्णय गरेको हो । यसले पर्यटकको सुरक्षा र सहजतामा सहयोग पुग्ने विश्वास छ”, सुवेदीले भने। हाल पोखरा भ्रमणमा रहेका अन्य पर्यटकलाई पनि होटलको प्रचलित दरमा २५ प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरिएको छ ।
सङ्घले एक विज्ञप्ति जारी गर्दै बाढीपहिरो र प्राकृतिक विपत्तिमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको उद्धार र निःशुल्क उपचारमा सरकारको ध्यानाकर्षणसमेत गराइएको छ ।























