

बझाङ, २८ असोज। पहाडी जिल्लामा कृषि गरेर जीविकोपार्जन गर्न अझै कठिन छ । सडक, बजार, सिँचाइ र आधुनिक प्रविधिको अभावका कारण धेरैले खेतीपाती छोड्दै गएका छन् । तर, यिनै चुनौतीलाई अवसरमा बदल्दै दुर्गाथली गाउँपालिका–५ सैनकी माया जप्रेल भने कृषि क्षेत्रमा प्रेरणाको स्रोत बनिरहनुभएको छ । पैतालीस वर्षीया जप्रेलले माटोसँगको प्रेमलाई व्यवसायमा रूपान्तरण गर्दै वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ ।
शिक्षक श्रीमान् सुरेन्द्र जप्रेलको तलबमा आफ्नो आम्दानी थपेर उहाँले छोरालाई चिकित्सा शिक्षा अध्ययन गराइरहनुभएको छ । उहाँका लागि कृषि केवल पेसा होइन, सन्तानको भविष्य निर्माण गर्ने माध्यम बनेको छ । उहाँका श्रीमान् आधारभूत तहका शिक्षक भए पनि सीमित तलबले परिवार चलाउन र छोराछोरीलाई उच्च शिक्षा दिलाउन पर्याप्त नभएपछि मायाले कृषि पेसालाई मुख्य आधार बनाएको बताउनुभयो । “जसरी पनि आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिलाउनुपर्छ भन्ने सोचले कृषि सुरु गरेँ, अहिले यही खेतीले हाम्रो सपना पूरा गरिरहेको छ”, उहाँ भन्नुहुन्छ ।
विगतमा दुर्गाथलीबाट सदरमुकाम चैनपुरसम्म पुर्याउन सडक सुविधा थिएन । उहाँले आफ्ना उत्पादन पिठ्युँमा बोकेर घण्टौँ हिँडेर स्थानीय बजार पुर्याउने गर्नुहुन्थ्यो । कडा मिहिनेत, पसिना र निरन्तरताको परिणामस्वरूप अहिले उहाँको उत्पादनले जिल्लाको बजारमा राम्रो पहिचान बनाइसकेको छ । उहाँ भन्नुहुन्छ, “बाटो नहुँदा निकै दुःख हुन्थ्यो । अहिले सडक पुगेपछि उत्पादन बेच्न सजिलो भएको छ ।” मायाको तरकारी वर्षभरि हरियाली जस्तै हुन्छ ।
बन्दा, गोलभेँडा, टमाटर, खुर्सानी, काउलीलगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएकी उहाँ विशेषगरी गोलभेँडा, टमाटर र बन्दाबाट राम्रो आम्दानी गर्ने बताउनुहुन्छ । उहाँको आफ्नै सातवटा प्लास्टिक टनेल छन् । ती सबैमा विभिन्न प्रकारका तरकारी उत्पादन भइरहेको हुन्छ । माया जप्रेल अध्यक्ष रहेको सरस्वती कृषक समूहअन्तर्गत भने १५ वटा टनेल सञ्चालनमा छन् । समूहका सबै सदस्यले तरकारी उत्पादन गरिरहनुभएको छ । मायाले भने अन्य सदस्यको भन्दा धेरै उत्पादन गरेपछि उहाँलाई विभिन्न ठाउँको कृषि पुरस्कार प्राप्त हुँदै आएको छ ।
यस वर्षको जेठदेखि साउनसम्म मात्रै मायाले नौ गाडी (तरकारी बोक्ने जीप) सदरमुकाम चैनपुर पठाउनुभएको थियो । त्यसयता पनि दर्जनभन्दा बढी गाडी तरकारी पठाएको उहाँले बताउनुभयो । हरेक वर्ष मायाको बारीमा तरकारी उत्पादन थोरैमा ७० क्विन्टल हुन्छ । टमाटर, आलु र बन्दाको सिजनमा त स्थानीय बजारमात्रै नभई अलि टाढाको झोता, तमैल, बागथला, देउरा, वित्थडसम्मकै बजार ओगट्ने गरेको उहाँले बताउनुभयो ।
कृषि आम्दानीबाटै छोरालाई डाक्टर
मायाको कृषि व्यवसायमा सफलताको सबैभन्दा ठूलो उपलब्धि भनेको छोराको शिक्षा हो । तरकारीखेतीबाट भएको आम्दानीकै भरमा उहाँका छोरा गजेन्द्र जप्रेल अहिले बङ्गलादेशमा एमबीबीएस अध्ययन गरिरहनुभएको छ । दुई छोरी काठमाडौँमा लोकसेवा आयोगको तयारी गरिरहनुभएको छ । “पहिले श्रीमान्को तलबले घर चलाउनै गाह्रो हुन्थ्यो । अहिले कृषि नै हाम्रो परिवारको मुख्य आधार बनेको छ”, माया भन्नुहुन्छ ।
आफ्नो उत्पादनको सबै नाफा सन्तानको शिक्षामा लगानी गरिरहनुभएको छ । “मेरा सम्पत्ति भनेकै सन्तान हुन्”, मायाले भन्नुभयो, “श्रीमान्कै कमाइले छोरा पढाउने आँट थिएन । पछि सानै उमेरदेखि बाबुले पनि मिहिनेत गर्दै गयो । त्यसपछि मैले पनि तरकारी विस्तार गर्दै गएँ । अहिले सन्तान पढाउन कसैसँग हात थाप्नुपरेको छैन ।” व्यावसायिक तरकारीखेतीसँगै मायाले रैथाने बाली संरक्षणलाई पनि प्राथमिकता दिनुभएको छ ।
कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायतका निकायबाट प्राप्त प्राविधिक सहयोगपछि उहाँले कोदो, कागुनो, परापुलो धानजस्ता स्थानीय बालीको खेती पनि विस्तार गरिरहनुभएको छ । मायाको निरन्तर मिहिनेत र सफलताले जिल्ला बाहिरसमेत चर्चा पाएको छ । कञ्चनपुरको सुन्दरपुरबाट आएको एक टोलीले उहाँको कृषि फार्म अवलोकन गरी विभिन्न कृषि सामग्रीसमेत उपलब्ध गराएको थियो । निरन्तर सक्रिय भएपछि सरकारी निकायले पनि सहयोग गर्ने गरेको उहाँले बताउनुभयो ।
परिवारको साथ, सफलताको आधार
मायाको सफलतामा परिवारको पनि महत्त्वपूर्ण भूमिका छ । विद्यालयको समयबाहेक श्रीमान् सुरेन्द्र खेतीपातीमा सघाउने गर्नुहुन्छ । “म दिनभर खेतमै हुन्छु । विद्यालयबाट फर्किएपछि श्रीमान्ले पनि साथ दिनुहुन्छ । परिवारको सहयोग नभएको भए यति धेरै काम सम्भव हुने थिएन”, उहाँ भन्नुहुन्छ । पहाडी जिल्लामा महिलाले कृषि व्यवसायमार्फत परिवारको आर्थिक अवस्था परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण माया जप्रेल बन्नुभएको छ । उहाँको सङ्घर्षले सडक, बजार र अवसरसँगै मिहिनेत जोडिएमा पहाडको माटोले पनि लाखौँ रुपैयाँ आम्दानी दिन सक्छ भन्ने देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?