
कोपनहेगन, १५ असोज । गत हप्तामा डेनमार्कका विमानस्थल र सैन्य अड्डामा भएका ड्रोन आक्रमणपश्चात् सुरक्षा, रक्षा र युक्रेन युद्धबारे छलफल गर्न युरोपेली नेताहरू बुधबार कोपनहेगनमा दुई शिखर सम्मेलनका लागि भेला भएका छन् । डेनमार्कको रक्षा मन्त्रालयका अनुसार कोपनहेगन विमानस्थलमा निगरानी मजबुत बनाउन उच्चस्तरीय राडार प्रणाली जडान गरिएको छ ।
अज्ञात ड्रोनले एक साताअघि हवाई क्षेत्र बन्द गर्न बाध्य पारेपछि हवाई यातायातमा ठूलो अवरोध आएको थियो । फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्विडेन र बेलायतले शिखर सम्मेलन अघि नै डेनमार्कमा विमान, युद्धपोत र हवाई रक्षा प्रणाली पठाइसकेका छन् । युक्रेनले पनि आफ्ना विशेषज्ञहरूलाई पठाई नर्डिक देशहरूसँग संयुक्त अभ्यास सुरु गरेको छ, जसले रूसी ड्रोन आक्रमणविरुद्धको अनुभव बाँड्नेछ ।
डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले सोमबार सामाजिक सञ्जालमार्फत भन्नुभएको थियो, “हामीले निष्कर्ष निकाल्न सक्दैनौँ कि यस घटनाको पछाडिको देश कुन हो, तर एउटै स्पष्ट कुरा छ– रूस नै युरोपको सुरक्षामा प्रत्यक्ष खतरा बनेको छ ।” बुधबारको युरोपेली सङ्घ (इयु) शिखर सम्मेलनको प्रमुख विषय रूस हुनेछ । सम्मेलनमा सन् २०३० सम्म युरोपले सम्भावित आक्रमणलाई कसरी रोक्ने भन्ने विषयमा छलफल हुनेछ ।
यसैबीच, अमेरिकी ध्यान एसिया र अन्य क्षेत्रमा केन्द्रित भएकाले युरोपेली सुरक्षामा स्वावलम्बी हुने आवश्यकता बढी रहेको नेताहरूले बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले भिडियो सन्देशमार्फत इयु नेताहरूसँग सम्बोधन गर्ने कार्यक्रम छ ।


























