
बेइजिङ, ७ असोज । सुपर टाइफुन रागासा दक्षिण चीनतर्फ नजिकिँदै जाँदा मङ्गलबार कम्तीमा १० वटा सहरमा विद्यालय र व्यवसाय बन्द गर्ने आदेश दिइएको छ । यी उपायहरूले लाखौँ मानिस प्रभावित हुनेछन् भने चीनको प्रमुख उत्पादन क्षेत्रका हजारौँ कारखानामा क्रियाकलाप रोकिँदै गएको छ ।
गुआङ्गडोङ प्रान्तको आपत्कालीन व्यवस्थापन ब्युरोले रागासाले २४ घण्टाभित्र प्रान्तको मध्य र पश्चिमी तटीय क्षेत्रमा अवतरण गर्ने जनाएको छ । “प्रमुख क्षेत्रहरूले निर्णायक उपाय अपनाउनुपर्छ, मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुपर्छ र क्षति कम गर्न सक्दो प्रयास गर्नुपर्छ”, विज्ञप्तिमा भनिएको छ ।
रागासा नजिकिँदै गर्दा गुआङ्गडोङले आँधीका लागि उच्चतम आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ । हङकङ मौसम सेवाअनुसार यसले दुई सय ३० किलोमिटर प्रतिघण्टासम्मको हावा बोकेको छ । सेन्जेनले चार लाख मानिसलाई खाली गर्न आदेश दिएको छ । अधिकारीहरूले ‘तीव्र हावा, वर्षा, छाल र बाढी’ को चेतावनी दिँदै आकस्मिक अवस्थाबाहेक बाहिर ननिस्कन आग्रह गरेका छन् ।
बजार र काम दिउँसोदेखि बन्द हुने जनाइएको छ । झुहाई, डोङ्गगुआन र फोसानलगायत अन्य प्रमुख सहरमा पनि निलम्बन आदेश जारी गरिएको छ । फोसानको आपत्कालीन मुख्यालयले ‘तीव्र हावा र भारी वर्षाले सहरलाई गम्भीर असर पार्नेछ’ भन्दै चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























