
संयुक्त राष्ट्रसङ्घ, ६ असोज । अफ्रिकी सङ्घ (एयू), युरोपेली सङ्घ र संयुक्त राष्ट्रका उच्चस्तरीय प्रतिनिधिहरूले आइतबार संयुक्त राष्ट्र मुख्यालयमा भेला भएर आजका विश्वव्यापी चुनौतीहरू सामना गर्न बहुपक्षीय साझेदारीलाई सबैभन्दा प्रभावकारी उपायको रूपमा पुनः पुष्टि गर्नुभएको छ ।
बैठकमा एयू आयोगका अध्यक्ष महमूद अली युसुफ, युरोपेली परिषद्का अध्यक्ष अन्तोनियो कोस्ता, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयन र संयुक्त राष्ट्र महासचिव अन्तोनियो गुटेरेससहित ती तीन सङ्गठनका वरिष्ठ प्रतिनिधिहरूले सहभागिता जनाउनुभएको थियो ।
तीन सङ्गठनहरूले जारी संयुक्त विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानून, मानवीय कानून र मानवअधिकारको सम्मानमा देखिएको कमीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्र सन्धिको पूर्ण पालना आवश्यक रहेकोमा जोड दिनुभएको छ । बैठकमा विशेष गरी सुडानमा जारी द्वन्द्वको शीघ्र अन्त्य गर्ने विषयमा सम्वेदनशीलता र गम्भीरताका साथ छलफल भएको थियो ।
आतङ्कवादी सशस्त्र समूहहरूको विरुद्ध सङ्घर्षलाई अझ सुदृढ पार्ने, सहिष्णुता प्रवद्र्धन गर्ने र विकासका लागि आवश्यक पहलहरू गर्ने विषयमा विचारविमर्श गरिएको थियो । तीनै सङ्गठनहरूले लिबियामा राजनीतिक प्रक्रिया पुनः जीवित गर्न संयुक्त राष्ट्रको रोडम्यापलाई पुरा समर्थन जनाएको छ ।
पूर्वी कङ्गो लोकतान्त्रिक गणराज्यका शान्ति पहलहरू, सोमालियामा अफ्रिकी सङ्घको समर्थन तथा स्थिरीकरण मिसनलाई साथ दिने विषयमा पनि सकारात्मक छलफल भएको थियो । त्यस्तै, अफ्रिका र विश्वका अन्य भागहरूमा शान्ति अभियान्त्रणहरूको पुनरावलोकन गर्ने विषयमा विचार आदानप्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





























