
काठमाडौं, ४ असोज। नेपाल उद्योग वाणिज्य महासङ्घले नेपालमा लगानीको वातावरण बिग्रन नदिनेतर्फ गम्भीर हुन आग्रह गरेको छ ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएका बहुराष्ट्रिय कम्पनी एनसेल तथा चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्सको आज निरीक्षण गर्दै महासङ्घले टोलीले सरोकार भएका सबैलाई वातावरण बिथोलिन नदिन आग्रह गरेको हो ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्ता घटनाले लगानीको वातावरण बिग्रने अवस्था आएको भन्दै सबैलाई गम्भीर हुन आग्रह गरे। उनले ‘जेएनजी’ आन्दोलनका क्रममा देशैभरि निजी क्षेत्रका ठूला, मझौला तथा साना उद्योगहरू तथा व्यक्तिका निजी सम्पत्तीमाथि भएको आगजनी र तोडफोड भएको र यसले दैनिक उत्पादन तथा रोजगारीमा असर परेको बताए।
नेपालमा विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्नका लागि यस्ता घटनाहरूले दीर्घकालीन असर पार्ने अध्यक्ष ढकालको भनाइ थियो । “नेपालमा लगानीको वातावरण बिग्रिने अवस्था आएको छ ।
यस्ता घटनाले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ । सरकार, राजनीतिक दल र सरोकार भएकाहरूलाई लगानीमैत्री वातावरण कायम गर्न आग्रह गर्दछु”, उनले भने, “नेपालको अर्थतन्त्रमा निजी क्षेत्रले ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशतभन्दा बढि योगदान दिएको अवस्थामा लगानीको संरक्षणका लागि उद्योगी व्यवसायीहरूको सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने आवश्यकता छ ।”
महासङ्घले यसअघि अर्थमन्त्री र गृहमन्त्रीसँग भेटेर निजी क्षेत्रले अझै पनि शान्ति सुरक्षाको अनुभूति गर्न नसकिरहेको भन्दै ध्यानाकर्षण गराएको थियो । महासङ्घलेसुरक्षाको प्रत्याभूति दिन, आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्तिमाथी भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्न भएकाहरूमाथि कानूनी दायरामा ल्याउन आग्रह गरेको थियो ।





















